
खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ ।
मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश उर्जा, सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव सहितका विभिन्न सरोकारवालासँग गहन छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
सो छलफलका क्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले उक्त समस्या समाधानका लागि आफु व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तराई–मधेसको खानेपानीको दीर्घकालीन समाधानका लागि सबै तह र तप्काबीच समन्वय र सामूहिक प्रयास आवश्यक छ ।
समस्या समाधानका लागि म व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय रहेको बताउनु भएको छ ।”
छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएको जानकारी गराउनु भएको छ ।