महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको आरोपमा पक्राउ परेकी युवतीलाई प्रहरीद्वारा सार्वजनिक ।
जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं ७ बनौटाकी २४ वर्षीया जुली झालाई आज, सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।
शनिबार राति विमलेशलाई जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि आरोप लागिएको छ ।
विमलेश यादवको आइतबार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।शनिबार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलभित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई हिजो आइतबार दिउँसो पक्राउ गरेर आज सोमबार सार्वजनिक गरेको छ ।