कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि दुईजना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै विशेष सम्मान प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी सिमाना, मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई यो महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७ ।६९ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई कारसहित नियन्त्रणमा लिएका थिए ।त्यसपछि भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५.८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ गरिनुका साथै, झापा गाउँपालिका–४ स्थित साइकलबाट १६७ ग्राम ब्राउन सुगर बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएका थिए ।
यसैगरी, प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भए ।
त्यस्तै, उनले जन्मकैद सजाय पाएका व्यक्ति समेत समावेश २१ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएका छन् ।


