रौतहट प्रहरीले एक वर्षमा साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको राैतहट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१–०८२ मा विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको राैतहटका प्रहरीले बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी राैतहटका भन्सार कार्यालय गौरमा बुझाएको छ । तस्करीमा प्रयोग भएका ५ थान स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई(रिक्सा, २४३ मोटरसाइकल र ३३ थान साइकल सहित २९६ वटा सवारी साधनसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यही अवधिमा तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीले बताउँछन् ।
साथै, फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६ ४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरि फैसला कार्यान्वयन गरिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ बराबरको जरिवाना असुल र ११४ वर्ष १ महिना २० दिन कैद सजाय भुक्तानीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।