नेपाल प्रहरी हेडक्वाटर नक्सालले केही जिल्लाका प्रहरी प्रमुखहरुलाई हेरफेर तथा सरुवाको तयारीमा रहेको छ ।
प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन क्षमता कमजोर भएका केही जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन गर्न खोजेको रहेको छ ।
गृह मन्त्रालयसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जिल्ला कमाण्ड गरेका प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवाको तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही, मोरङ, धनुषा, बाँके, कन्चनपुर, रुपन्देही, मकवानपुरलगायतका एसपीहरुलाई परिवर्तन गर्न खोजेका छन् । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले खटाएका कतिपय चौकीका इन्चार्जहरुको घुस डिल गरेको भिडियो छताछुल्ल भएपछि उनको कमाण्ड कन्ट्रोलमा प्रश्न उठेका छन् ।
पटकपटक निलम्बनमा परेका वैद्यनाथ दास, रामबालक यादव जस्ता जुनियर अधिकृतलाई चौकी इन्चार्जको जिम्मा दिएर खुलेआम तस्करीको लाइन चलाएको आरोप उनीमाथि लागिएको छ ।यस्तै मोरङका एसपी नारायण चिमरियाको बारेमा पनि धेरै गुनासा आएकाले उनी पनि परिवर्तन हुने सूचीमा रहेका छन् । गृहमन्त्री सवार एक कार्यक्रममा रजनिगंधा तुलसी गुट्खा खाएको भिडिओ भाइरल समेत भएको थियो ।
उनको गत कात्तिक ५ गते मोरङ सरुवा भएको रहे छ ।यसैगरी, मकवानपुरका एसपी विश्वराज खड्का, धनुषाका एसपी नरहरि शर्मा, बाँकेका एसपी रामबहादुर घर्ती, कन्चनपुरका एसपी खड्कबहादुर खत्री, रुपन्देहीका एसपी प्रदीप क्षेत्रीको पनि प्रहरी मुख्यालयले विकल्प खोजी गरिरहेको जानकारी आएको छ । कन्चनपुरका केही समयअघि भएको शिक्षकको हत्या, बाँके र धनुषामा तस्करी बढेको, रुपन्देही र मकवानपुरमा घुमुवाहरुको असुली विवाद परेकाले पनि प्रहरी नेतृत्व ती जिल्लाको कमाण्ड नै फेर्ने तयारीमा रहेको बताइएको छ । अवधी नपुग्दै उनीहरुको कार्यक्षमतामा प्रश्न उठाउँदै प्रधान कार्यालयले सरुवाको तयारी गरेको बुझिएको छ । सरुवा हुने हल्लापछि उनीहरु पछिल्लो समय सरुवा रोक्न नेताहरु भेट्नमा व्यस्त रहेको स्रोत बताएको छ । यस्तै केही जिल्लाका एसपीहरुको समयाअवधी पुगिसकेको हुनाले उनीहरुको पनि सरुवा तयारी भइरहेको बुझिएको छ ।