नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले कुल ४५८ नेपाली खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिँदै अक्सनको मिति सार्वजनिक गरेको हो ।
क्यानका अनुसार दर्ता भएका खेलाडीको सूची अब आठ वटै फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइने छ । त्यसपछि प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीहरूको प्राथमिकताका आधारमा अन्तिम अक्सन सूची तयार पारिने छ ।
यसअघि सबै फ्रन्चाइज टोलीले रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् । अब अक्सन, विदेशी हस्ताक्षर र ट्यालेन्ट हन्टमार्फत फ्रेन्चाइजहरूले आफ्नो टोलीलाई बलियो बनाउने प्रयास गर्नेछन् ।
दोस्रो संस्करणको एनपीएलका लागि खेलाडीहरूको स्यालरी क्यापमा कुनै परिवर्तन नगरिएको क्यानले जनाएको छ । गत सिजन ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ तोकिएको थियो । बी ग्रेडका खेलाडीका लागि टोलीहरुले ५ देखि १० लाख रुपैयाँ खर्च गरेका थिए भने सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख रुपैयाँ तोकिएको थियो । तीन वटै श्रेणीका खेलाडीका लागि २ वा सो भन्दा बढी फ्रेन्चाइजहरूले बोली लगाए गोलाप्रथामार्फत टिम तय गरिएको थियो । यस पटक पनि यही नियम लागू हुने क्यानले बताएको छ ।
क्यानको वार्षिक क्यालेन्डरअनुसार आगामी नोभेम्बर-डिसेम्बरमा फ्लडलाइट र ओपन प्यारापिटसहितको पूर्वाधारबीच दोस्रो संस्करणको एनपीएल हुनेछ ।