जनकपुरधाम । धनुषा जिल्लामा अपराधका घटनामा उल्लेखनीय वृद्धि देखिएको छ । विभिन्न प्रकारका अपराधहरू—जस्तै चोरी, लुटपाट तथा हिंसात्मक गतिविधिहरू—अघिल्लो वर्षको तुलनामा बढ्दो क्रममा छन् ।
यसले स्थानीय बासिन्दामा त्रास र असुरक्षा बढाएको छ । सोमबार राति एक जनाले खुकुरी प्रहार गरी एक किशोरीको हत्या गरेका छन्”भने दुई बालिकालाई गम्भीर घाइते बनाएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुर उपमहानगरपालिका–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा राति साढे ११ बजे अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् उनको खुकुरी प्रहारबाट सोही घरमा डेरा गरी बस्ने अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको हो । १५ वर्षीया अञ्जली दिनेश यादवकी छोरी हुन् । प्रहरीले जनाएको छ, अञ्जलीको घाँटी चिर्ने गरी खुकुरी प्रहार गरिएको थियो । साहले अञ्जलीकी आमा, ३५ वर्षीया आशा यादवमाथि पनि खुकुरी प्रहार गरेका छन् ।
उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । यसैगरी, सोही कोठामा डेरा गरी बस्ने १४ वर्षीया राधा यादवमाथि समेत खुकुरी प्रहार गरिएका छन् ।
उनी धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरकी हुन् ।
राधाको दाहिने हात र घुँडामा गम्भीर चोट लागेको छ । दुबै घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रामबाबु साह घटनापछि फरार भएका छन् ।
प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ ।
साह विगतमा आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए ।
सुरक्षा निकायहरूका अनुसार बेरोजगारी, गरिबी, लागू औषधको दुरुपयोग, र कानुनी कार्यान्वयनको कमजोरी जस्ता कारणहरूले अपराधमा वृद्धि भएको देखिन्छ । साथै, राजनीतिक संरक्षण र प्रशासनिक कमजोरीले पनि अपराधीहरूलाई उन्मुक्ति दिएको जनगुनासो रहेको छ । समस्याको समाधानका लागि प्रशासनले निगरानी प्रणाली सुदृढ पार्ने, प्रहरी गस्ती बढाउने, र समुदायसँग सहकार्य गर्दै अपराध नियन्त्रणका प्रयासहरू गर्नुपर्छ । यद्यपि, दीर्घकालीन समाधानका लागि शिक्षा, रोजगारी, र सामाजिक सचेतनामा लगानी आवश्यक देखिन्छ। धनुषाको शान्ति र सुरक्षाका लागि नागरिक, सुरक्षा निकाय, र स्थानीय सरकारबीच समन्वय आवश्यक छ ।
यसका लागि सबै पक्षले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ ।
नव जनप्रारबाट सभार ।