Thursday, August 14, 2025

मिडिया काउन्सिल विधेयकबारे प्रेस सेन्टर नेपालबाट जारी प्रेस विज्ञप्ति:-

ताजा / भरखरै प्राप्त

प्रेस सेन्टर नेपाल
प्रेस विज्ञप्ति

प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखिसकेको छ । विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको छ । यस सम्बन्धमा थप स्पष्टता प्रदान गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) राष्ट्रिय सभाबाट पारित विधेयकका प्रावधानप्रति ध्यानाकर्षण : राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने देखिएको छ । यी प्रावधानहरूले विधेयकलाई पञ्चायतकालीन कानूनभन्दा पनि प्रतिगामी बनाउने जोखिम छ । यस्ता प्रावधानहरू विश्वव्यापी प्रेस स्वतन्त्रताको मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, २०७३, र डा. सुरेश आचार्य नेतृत्वको आमसञ्चार क्षेत्र सुधार समितिको सुझावविपरीत छन् ।
२) पदाधिकारी नियुक्ति सिफारिस समितिको संरचना सुधार : विधेयकमा मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सरकारले तोकेको एकजना विज्ञ र मन्त्रालयका सहसचिव रहने सिफारिस समिति बनाउने प्रावधान छ । यो प्रावधान राष्ट्रिय आमसञ्चार नीति, २०७३ को दफा २.१९ विपरीत छ र मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र सक्षम निकाय बनाउन असफल हुन्छ । यसलाई संशोधन गरी राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र संसदको विषयगत समितिका सभापति रहने सिफारिस समिति बनाइनुपर्छ । काउन्सिलका पदाधिकारीका कार्यकालको स्थायित्वलाई प्राथमिकता दिंदै हटाउनै परेमा नियुक्तिको सिफारिस गर्ने समितिले नै छानवीन गरेर दिएको प्रतिवेदनको आधारमा हटाउन सकिने प्रावधान राख्नुपर्छ ।
३) पदाधिकारीको संरचनागत सुधार : मिडिया काउन्सिलको प्रस्तावित पदाधिकारी संरचना नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीतिले प्रत्याभूत गरेको समानुपातिक समावेशी सिद्धान्तविपरीत छ । काउन्सिलको अध्यक्ष र सदस्यहरूको नियुक्ति संघीय संरचना र समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुनुपर्छ, जसले भौगोलिक, लैङ्गिक, क्षेत्रीय, जातीय र सामाजिक विविधतालाई प्रतिनिधित्व गरोस् । साथै, काउन्सिलमा सूचना प्रविधि, मानवअधिकार, सञ्चार नीतिजस्ता विषयगत विज्ञहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ । काउन्सिल पत्रकारहरूको मात्रै होइन, सम्पूर्ण नागरिक हित र अभिव्यक्ति स्वतन्त्रताको संरक्षक निकाय हो भन्ने सन्देश स्पष्ट हुनु जरुरी छ ।
४) कार्यवाहक अध्यक्षको व्यवस्था : काउन्सिलको अध्यक्षको नियुक्ति नभएको वा रिक्त रहेको अवस्थामा मन्त्रालयको सहसचिवलाई कार्यवाहक अध्यक्ष बनाउने प्रावधानले काउन्सिललाई मन्त्रालयको मातहतको निकाय बनाउँछ । यो प्रावधान हटाई काउन्सिलका सदस्यहरूमध्येबाट वरिष्ठतम सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने व्यवस्था गरिनुपर्छ । साथै, काउन्सिलमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रावधान राखिनुपर्छ ।
५) बजेट र वार्षिक प्रतिवेदन : स्वतन्त्र र स्वायत्त निकायको रुपमा राख्न काउन्सिलको वार्षिक बजेट र काउन्सिलको वार्षिक प्रतिवेदन प्रस्तुत् नेपालका संवैधानिक आयोग बमोजिम हुनुपर्छ ।
६) प्रेस प्रतिनिधि वितरण र पत्रपत्रिका वर्गीकरण : काउन्सिलबाट प्रेस प्रतिनिधि वितरण गर्ने प्रावधानको पुनरावलोकन गरी पत्रपत्रिका वर्गीकरणका लागि छुट्टै स्वायत्त निकाय गठन नहुँदासम्म काउन्सिलबाटै यो जिम्मेवारी सम्पादन गर्ने व्यवस्था राखिनुपर्छ ।
७) प्रेस स्वतन्त्रताको रक्षा : प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति, २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव, र नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संगठनहरूसँग भएको समझदारीअनुसार प्रेस सेन्टर नेपालले उठाएका यी विषयहरूलाई सम्बोधन गरी विधेयक संशोधन गरिनुपर्छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति तथा समग्र प्रतिनिधि सभालाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराइन्छ ।
८) दबाबमूलक कार्यक्रममा सहकार्यको आह्वान : मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधान संशोधन गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्न प्रेससँग सम्बन्धित सबै संघसंस्थालाई प्रेस सेन्टर नेपाल सहकार्यको आह्वान गर्दछ । यदि विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गर्दछ ।
धन्यवाद ।
१८ साउन २०८२

(मनोज घर्तीमगर)
महासचिव

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles