Thursday, August 14, 2025

श्रीदुर्गा ट्रान्सपोर्ट माथि राजश्वको निगरानी,महिना दिनमै चार गाडी पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका बीरगञ्जका नामुद तस्करका रुपमा चर्चित मदन रुन्चे भन्ने मदन गुप्ताको बिना भन्सारका चार ट्रक सामान राजश्व अनुसन्धान विभागले पक्राउ गरेको समाचार छ । श्रीदुर्गा ट्रान्सपोर्टका नाममा ल्याइएका करिब ३ करोड बराबरको सामान राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर छानबिन थालेको हो । मदनका छोरा मुकेश गुप्ताको नाममा श्री दुर्गा ट्रान्सपोर्ट संचालनमा छ ।
गत साउन ७ गते राजश्व अनुसन्धान कार्यालय पथलैयाले बिहान ११ बजे ना ३ ख ७६५६ नम्बरको ट्रक पक्राउ गरेकोमा सोही साँझ शाखा अधिकृत बालकृष्ण दाहाललाई सेटिङ मिलाएर छुटाइएको राजश्व स्रोतले बताएको छ । कार्यालय प्रमुख हरिप्रसाद शर्मा बिदामा काठमाडौं आएका बेला शाखा अधिकृत दाहालले नगन्य जरिवाना तिराएर भन्सार चोरी पैठारीको उक्त ट्रक छाडिएको स्रोतले जनाएको छ । पथलैया कार्यालयले छाडेको सो गाडी त्यसपछि पोखरातर्फ लागेको थियो ।
सोही दिन साउन ७ गते सोही ट्रान्सपोर्टबाट काठमाडौं तर्फ आइरहेका बेला थानकोट नाकाबाट राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकले राजश्व छलि बिना भन्सार जाँचपास ल्याएको दुई गाडी नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको छ । उनै तस्कर रुन्चे मदनको गत साउन ७ गते पक्राउ गरेको सोही नम्बरको गाडी आज पुनः पथलैया कार्यालयले पक्राउ गरेको राजश्व कार्यालय पथलैया स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेको उक्त ट्रकका बारेमा नेपालबहसको जिज्ञासामा राजश्व कार्यालय पथलैयाका सूचना अधिकारी पुष्पराज कोइरालाले आफू बिदामा भएकाले आज पनि पक्राउ परेको हुनसक्ने बताए । दैनिक २-३ वटा गाडी राजश्वले शंका वा सूचनाका आधारमा पक्राउ गरिरहेको बताउँदै उनीहरुले दैनिक नै क्यारिङ भन्दै सामान पठाउने गरेकोमा अनुसन्धानका दौरान सूचना वा नियमित गस्तीका क्रममा पक्राउ पर्ने गरेको जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि पक्राउ गरेर पठाउने गरेको उनले जानकारी दिए ।
बीरगञ्जका धेरै ट्रान्सपोर्ट कम्पनीहरूले अरुकै सामान क्यारिङ गर्ने दावी गरेतापनि अधिकांशले भन्सार चोरी पैठारीकै सामान बोक्ने गरेका छन् । त्यसमध्ये पनि श्रीदुर्गा ट्रान्सपोर्टले सधैं भन्सार चोरी पैठारीका सामान मात्र बोक्ने गरेको जानकारहरु बताउँछन् । श्री दुर्गा ट्रान्सपोर्टका ना३ ख ७३११ र ना ४ ख ८१५९ नम्बरका ट्रक राजश्व अनुसन्धान विभागले पक्राउ गरेको छ । यो सामान रौतहटको मठिया महुलिया नाकाबाट बिना भन्सार काठमाडौंका लागि आएको बताइएको छ । ट्रकमा अवैध चिनी, कपडा, काजु किसमिस, ब्याट्री, मोबाइल चार्जर लगायतका करोडौंको सामान भएको राजश्व अनुसन्धान कार्यालय स्रोतको भनाई छ । दुवै ट्रकमा भन्सार चोरी पैठारीका सामान रहेको आशंकामा राजश्वले पक्राउ गरेको हो ।
विभागका निर्देशक राजन बिसीले ठ्याक्कै यति नम्बरको गाडी भन्ने थाहा नभएपनि फाँटमा केटाहरूले हेरिरहेको बताए । गाडी घोडाका विषयमा मलाई भन्दा विभागका सूचना अधिकारीलाई विस्तृत जानकारी हुने भएकाले हिजो मात्र एउटा गाडी छुट्यो, कति आउँछन् अनि छुट्छन् पनि, अनुसन्धानका क्रममा आउने जाने भइरहने उनको भनाई थियो । साथीहरूले हेर्दै छन्, कसैलाई व्यक्तिगत रुपमा यस्तो उस्तो भन्नु भएन भन्दै निर्देशक बिसीले अनुसन्धानका क्रममा पैसा नतिरेर पनि होला कि ? दुईटा मध्ये एउटा गयो कि ? उनले कुरा मिलाए । आज छुटेको गाडीमा करोडौंको भन्सार चोरी पैठारीको सामान भएपनि राजश्वसँग ठूलै सेटिङमा थोरै जरिवाना तिरेर गाडी छुटाएको आशंका राजश्वलाई सूचना दिने स्रोतको छ ।
श्री दुर्गा ट्रान्सपोर्टका देखिने मालिक मुकेश गुप्ता रहेपनि सबै तस्करीको नेटवर्क धन्दा भने मदन रुच्नेले मिलाउने गरेको बीरगञ्जका एक व्यवसायीले बताए । उनका छोरा मुकेश एक वर्ष अघि ट्रकसहित राजश्व अनुसन्धान विभागले पक्राउ गर्दा दुई दिन ललितपुर प्रहरी परिसरको चिसो छिडीमा रात काट्नु परेको थियो । मुकेशलाई मागिएको धरौटी रकम जुटाउन नसकेपछि उनी प्रहरीको कस्टडीमा पुगेका थिए । पछि उनलाई एक घुमुवा प्रहरीले त्यतिबेला चिसो छिडीबाट सिपाही बस्ने कोठामा सुत्ने व्यवस्था मिलाएको बताइन्छ ।
स्रोतका अनुसार मदन रुच्नेका पाटर्नरमा मनोज गुप्ता र रामेश्वर तिवारी रहेका छन् । तर यी दुवै आफ्नो पाटर्नर नभएको मदन रुच्नेले नेपालबहसलाई बताए । स्रोतका अनुसार मनोज गुप्ता आफूलाई माओवादी निकट भएको फूर्ति झार्छन् । आफ्नो माओवादी अध्यक्ष प्रचण्डसँग सिधा सम्पर्क र पहुँच रहेको धक्कु दिँदै हिँड्ने मनोज बीरगञ्जको सूचीकृत तस्करमा पर्छन् । खासमा उनका भाई प्रभाकर गुप्ता प्रचण्डको कान्छी छोरी गंगा दाहालको झोला बोक्ने कार्यकर्ता रहेको माओवादी निकट स्रोतको भनाई छ । यस्तै अर्का पार्टनर रामेश्वर तिवारी राजश्व अनुसन्धान विभागले ७ करोड बराबरको बिगो र त्यति नै जरिवाना कायम गरि अदालतमा मुद्दा चलाइएका पात्र हुन् । सो मुद्दा हाल सर्वोच्च अदालतमा चलिरहेको बताइएको छ ।
तस्कर मदन रुन्चे गंगा पन्त पर्साको एसपी रहँदा हुण्डीको ११ लाख रकमसहित रंगेहात पक्राउ परी १५ दिन प्रहरी हिरासतमा बसेका बदनाम पात्र हुन । बीरगञ्जका सदाबहार तस्करको उपमा पाएका मदनले प्रहरी प्रशासन र राजश्वका हाकिमहरूलाई राम्रै दानापानीको व्यवस्था गरेर तस्करी धन्दा निर्वाध संचालन गर्दै आएको बताइएको छ ।
समाचारका बारेमा राखेको जिज्ञासामा मदन रुच्नेले राजश्वले गाडी रोकेको स्वीकार्दै आज दुवै गाडी छुटेको जानकारी दिए । तर आज पथलैयामा पक्राउ परेको ना ३ ख ७६५६ नम्बरको गाडी आफ्नो नभएको बताउँदै मदन गुप्ताले अरु कुनै व्यापारीले फुल ट्रिप लिएको गाडी हो आफ्नो होइन, उनले भने । गाडी खोजेर दिएबापत प्रति गाडी दुई हजार कमिशन मात्र फुल ट्रिप ट्रान्सपोर्टलाई आउने जानकारी दिए ।
आज विभागबाट छुटेको गाडीका सामानहरू ५० औं जना ग्राहकको भएको दावी गर्दै गुप्ताले कसैको ६० हजार, कसैको एक लाख ३० हजार त कसैको एक लाख ७० हजार गरि त्यस्तै ५-७ लाख जरिवाना लागेको बताए । ट्रान्सपोर्ट भनेकै एउटा भरिया भएकाले अरुकै सामान बोक्ने र सामानको जिम्मा पनि जसको हो उसैको हुने उनले बताए । बिना बिलको सामान बोकेमा मात्र ट्रान्सपोर्ट जिम्मेवार हुने बताउँदै चाँदीको बिल दिएर सुन बोके पनि त्यो सम्बन्धित मान्छेकै जिम्मेवारी हुने बताए । कार्टुन खोल्ने हाम्रो अधिकार नहुने मदनको भनाई थियो ।आफू विगत १८ वर्षदेखि जग्गा व्यवसायमा संलग्न भएकाले तस्करी धन्दामा आफू संलग्न नरहेको दावी गरे । ट्रान्सपोर्ट छोराले गर्ने व्यवसाय भएको दावी गर्दै गुप्ताले प्रहरीको चेकजाँच र पक्राउ प्रति उनले असन्तोष प्रकट गरे । नेपालबहसबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles