Wednesday, August 13, 2025

कारागारमा किन झडप हुन्छ ?गृह मन्त्रीज्यूले बोलाउनु भयो भने म सुधारका कार्यक्रम दिन सक्छु।———-बसन्त कुँवर

ताजा / भरखरै प्राप्त

कैलाली कारागारमा पनि झडप भएको र यसमा गृह मन्त्रीज्यूले सरोकार राखेको समाचार पढें।

म पनि एक पूर्व प्रहरी अफिसर हुँ र जेलको अनुभव पनि छ। जेलमा कोही पनि बस्न चाहँदैनन्, किनभने त्यहाँ मानव अधिकारमाथि बन्देज हुन्छ। मानव अधिकारको बन्देज जो–कोहीलाई पनि मन पर्दैन र निस्कन भाग्न कानुनी वा गैर–कानुनी ढंगले हरेकले प्रयास गरिरहेकै हुन्छन् ।

जेलभित्र राख्नुको मुख्य दुई कारण हुन सक्छन्— सजाय पाएका वा पुर्पक्षमा रहेका। यसमा पुर्पक्षमा रहेका भन्दा पनि सजाय पाएका हरुबाट जेलमा समस्या आउन सक्छ। जेलमा निर्दोष र अपराधी दुवै परेका हुन सक्छन्।

नेपालका जेलमा समस्या सिर्जना हुनुमा पहिलो त प्रशासनको आर्थिक लोभ, लालच, शोषण पनि हुन सक्छ; दोस्रो, त्यसभित्र बनेका गुट वा भित्र रहेका बाहुबलीहरूको शक्ति प्रदर्शनले पनि झडप, विरोध वा अशान्ति निम्त्याएको हुन सक्छ।

तर मेरो विचारमा यी कारणहरू सामान्य हुन्, जुन सजिलै ह्यान्डल गर्न सकिन्छ। यसका लागि कसैलाई जेल परिवर्तन गर्नु पर्ला, कसैलाई केही सजाय, र कसैलाई पदबाट च्युत वा अन्यत्र सरुवा गरे पुग्ला।

अहिले नेपालको जेलमा बारम्बार झडप हुनुको तेस्रो र सबैभन्दा ठूलो कारण हो— कैदी बन्दीहरूलाई कुनै ठोस सुधारका कार्यक्रम नहुनु। कल्पना गरौं, कुनै स्कुल वा कलेजमा पाँच सय–एक हजार विद्यार्थी छन् तर पाठ्यक्रम वा पुस्तक छैन, कुनै रुटिन वा कार्यक्रम छैन भने, त्यस्तो अवस्थामा दिनभरि विद्यार्थीहरूले के गर्लान् ? कसरी शान्त रहन सक्छन् ? कसरी पास होलान् ? त्यहाँ त दिनमै कैयौं पटक झडप निश्चित छ।

हालका जेललाई सुधार केन्द्र भनिन्छ। सुधार भन्नाले, तिनीहरूले गरेका पुराना गल्तीहरू जेलबाट निस्केपछि पुन: नदोहराऊन्, समाजमा सभ्य भएर रहून्, देशको ऐन–नियमको पालना गरून्, र आफु, आफ्नो परिवार, समाजको हित हुने काम गरी आदर्श नागरिक भएर बाँचून् भन्ने पनि हो। तर त्यो आचरण वा बानीको सुधार कसरी हुन्छ त ? त्यसका लागि सुधारको कार्यक्रम त चाहियो नि !

संसारका धेरै जेलहरूमा “नो क्राइम” भन्ने तालिम सञ्चालन हुन्छ, जुन तालिम मैले अमेरिका र इण्डोनेसियाका जेलहरूमा पुगेर आफैँ अध्ययन गरेको थिएँ। यदि सरकारलाई आवश्यक भए, म माननीय गृह मन्त्रीज्यूलाई त्यसबारे आफ्ना अनुभव निःशुल्क दिन पनि सक्छु। मैले त्यो कार्यक्रम जेल प्रशासनलाई धेरै वर्षअघि दिन पनि खोजेको थिएँ, तर अव्यवसायिक जेल प्रशासनले यसको गहिराइ बुझ्न सकेन, र खाली “हामीसँग सुधार कार्यक्रमको लागि बजेट छैन” भन्ने नै तर्क रह्यो। तर सुधारको कार्यक्रममा बजेटभन्दा सकारात्मक सोच आवश्यक रहन्छ, जुन मैले त्यसबेलाका प्रशासकहरूमा पाइन्।

जब नेपालका जेलहरूमा ठोस सुधारको कुनै कार्यक्रम वा तालिम नै छैन भने, त्यहाँ पुगेका कुनै एउटा डन, चोर, डाका, ठग, भ्रष्ट, कर्तव्यहीन, वा जो–कोही कसरी आदर्श नागरिक भएर सजाय पूरा गरी समाजमा फर्कन सक्छ त ? उसलाई त यही लाग्छ कि मलाई सजाय दिइएको छ, सजाय पूरा गरी सकेपछि सजाय दिनेबाट बदला लिन्छु वा अझ ठूलो अपराध गर्छु । तिनको आपराधिक भावना र दृष्टिकोणमा त कुनै परिवर्तन आउने छैन, र यसमा परिवर्तन नआएसम्म व्यक्तिको आपराधिक र असामाजिकपनमा पनि कुनै सकारात्मक परिवर्तन आउने छैन । उनी फेरि बारम्बार त्यही अपराध गरेरै रहने छन्।

जब वर्षौँसम्म जेलमा रहँदा कुनै काम र तालिम नै हुँदैन, दिमाग खाली–खाली हुन्छ, तब सुरु हुन्छ — “खाली दिमाग शैतानको घर”। यही दिमागमा रहेको शैतानको घरले नै रिस, आक्रोश, नकारात्मकता, जेल प्रशासन र सरकारप्रति रुष्टता जन्माउँछ, र जेलभित्र झडप गरिइनै रहन्छ। आक्रोश त कतै फ्याक्नै पर्यो।

जेल सुधारका के–कस्ता कार्यक्रम हुन्छन् ? गृह मन्त्रीज्यूले चाहेमा म भेटेर बताउन र कुनै जेलमा यो कार्यक्रम सुरु गर्न चाहे, आफ्नो तर्फबाट निःशुल्क श्रम र विशेषज्ञता दिई मद्दत गर्न पनि सक्छु । जेल जीवनपश्चात पुनर्स्थापना पनि जरुरी हुन्छ ।
नव जनप्रहारबाट ।

पूर्व एसएसपी
रिह्याब स्पेसलिस्ट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles