

पथलैया । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर तस्करीका गाडी पक्राउ गर्ने र बार्गेनिङ गरी असुली धन्दा चलाउने गरेको आरोप लागेको छ ।
ट्राफिक प्रहरीको काम सवारी साधनको आगमनलाई सुचारु गर्ने, ट्राफिक जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्ने एवं ओभरलोड बोक्ने यात्रुबाहक र भारबहन गाडीहरूको नियमन गर्ने हो । सवारी साधनको अवस्था चेकजाँच, लाइसेन्स, ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्ने, दुर्घटना न्यूनीकरण जस्ता कामहरू ट्राफिक प्रहरीले हेर्दै आएको छ ।
तर राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिलवालको ध्यान भने ट्राफिक व्यवस्थापनमा भन्दा भन्सार चोरी पैठारीका गाडीहरू रोकेर बार्गेनिङ गर्ने, कुरा नमिले राजश्व अनुसन्धान कार्यालय वा भन्सार पठाउने तर्फ केन्द्रीत भएको गुनासो आउन थालेको छ ।
एसपी सिलवालले गत साउन ११ गते पहिलेको साझा ट्रान्सपोर्ट भन्ने हाल सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोष्टबाट पक्राउ गरी करिब ८ लाखको डिल गरेर छाडेको सो ट्रान्सपोर्ट सम्बद्ध एक कर्मचारीले बताए । सोका लागि ट्रान्सपोर्टमा सामान मगाउने रक्सौलका व्यापारी बृजकिशोर गुप्ता र रामाशंकरले काठमाडौंबाट रकम पठाएर ती ट्रक छुटाएको स्रोतले दावी गरेको छ । यो ट्रान्सपोर्टका मालिक बालकृष्ण पोखरेल हुन् ।
बीरगञ्ज, बारा, रौतहट लगायतका मधेश प्रदेशका सीमावर्ती जिल्ला तथा पूर्वबाट आउने ट्रान्सपोर्टका गाडीहरू दैनिक रोकेर उनले बार्गेनिङ गर्ने गरेको स्रोतको भनाई छ । उनले आफ्नो सम्पर्कमा आउने ट्रान्सपोर्टका गाडीलाई आँखा चिम्लिने, सम्पर्कमा नआउनेलाई धरपकड गर्ने गरेको आरोप एक ट्रान्सपोर्ट व्यवसायीले लगाए । एसपी सिलवालले यसरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर भारबहन गाडीहरू रोक्न थालेपछि व्यवसायीहरू आजित बनेका छन् । ट्राफिक प्रहरीले यसरी अनावश्यक दुःख दिन थालेपछि केही ट्रान्सपोर्ट व्यवसायीले राजमार्गमा गाडी तेर्स्याएर आन्दोलन गर्ने चेतावनी पनि दिन थालेका छन् ।
श्री दुर्गा ट्रान्सपोर्टका व्यवसायी मदन गुप्ताले पछिल्लो समय प्रहरी र पथलैया ट्राफिकले पनि दुःख दिन थालेको गुनासो गरे । उनले “प्रहरीले गाडी समाएर पठाइदिन्छ, भोलिपल्ट समाचार आउँछ बिना बिलको दुई करोडको सामान पक्राउ ! जबकी गाडी खोलेको छैन पुलिसले, चेकजाँच भएको छैन तब कसरी देख्यो पुलिसले कि दुई करोडको सामान ? बिना बिलको दुई करोडको गाडी समात्यो रे ! त्यो गाडी राजश्व वा भन्सारले चेकजाँच गर्छ अनि छुटेर जान्छ तर पुलिसको रेकर्डमा दुई करोड बराबरको चोरी पैठारीको सामान पक्राउ गरेर पठायो भन्ने समाचार व्यापक हुन्छ । कुनै पुलिसले गाडी पक्राउ गर्छ तर खोल्ने अधिकार हुँदैन, जबकी त्रिपाल नै खुलेको छैन, चेक भएको छैन कसरी देख्यो पुलिसले ? प्रहरीसँग अधिकार छ, हातमा बन्दुक छ भन्दैमा व्यापारीको बदनाम गर्ने ?”
उता राजश्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी पुष्पराज कोइरालाले ट्राफिक प्रहरीलाई भन्सार चोरी पैठारीका गाडी पक्राउ गर्ने अधिकार राजश्व चुहावट ऐनमा नभएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मात्र राजश्व चुहावटको गाडी पक्राउ गरी बुझाउने अधिकार भएको उनले जानकारी दिए । ट्राफिक प्रहरीलाई पनि तपाईंहरूले राजश्व चुहावटका गाडी पक्राउ गरेर बुझाउने अधिकार दिएको हो र ? भन्ने जिज्ञासामा सूचना अधिकारी कोइरालाले हामीले दिएको होइन ऊ आफैंले बुझाउन ल्याउने बताए । त्यसरी ट्राफिक प्रहरीले पक्राउ गरी ल्याउन पाउँछ र ? भन्ने नेपालबहसको प्रश्नमा कोइरालाले नपाउनु पर्ने हो तर पठाउने गरेको जानकारी दिए । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले बेला बेला राजश्व चुहावटको शंका लागेका गाडीहरू पठाउने गरेको जनाउँदै कोइरालाले राजश्व कानुनमा नभएपनि प्रचलनमा रहेको बताए ।यस बारे एसपी सिलवालले खबर आएपछि सम्बन्धित ठाउँमा पठाउने गरिएको स्वीकार्दै पहिलेदेखि यस्तो हुँदै आएको बताए । भन्सार चोरी पैठारीका गाडीहरूको सूचना आएपछि राजश्व कार्यालय नजिकै रहेकाले आफू आएपछि पनि थुप्रै गाडी राजश्वमा पठाएको बताए ।
नेपालबहस ।