

पछिल्लो एक सातादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ । खेतमा पानी पर्याप्त भएपछि शनिबारसम्ममा ७५ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएका छन् ।
यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रूपमा नभएकाले उत्पादन २५ प्रतिशतले घट्ने निर्देशनालयको अनुमान रहेको छ । सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा यसपाली कम रोपाइँ भएको निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताएका छन् ।
पछिल्ला केही दिनमा लगातार पानी परेकाले केही राहत मिलेको पनि उहाँले बताउनुभएको हो। मधेस प्रदेशको कृषि निर्देशनालयका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताउँनु भएका छन् ।
यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि त्यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो ट्युवबेल वितरण प्रक्रिया सुरू गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताइएको छ ।