


सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा आज शुक्रबार राति अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ८:३० बजे महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले टाउकोमा गोली हानेका थिए।
गम्भीर घाइते अवस्थाको यादवलाई तत्कालै महोत्तरी जिल्लास्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा थप २१ जना गरी जम्मा ३६ जनाको प्रहरीका टोलीले घटनास्थलमा खटिएका थिए ।
उपचारका क्रममा राति ८.४५ बजेको समयमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका छन् । उनको शव अस्पतालमै राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र गोली प्रहारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ, र घटनामा दुई जना व्यक्तिहरू फरार रहेको खोजी कार्य तीव्र पारिएको सर्लाहीका प्रहरीले बताएका छन् ।
घटनाको कारण अहिलेसम्म खुलेको छैन। सर्लाही जिल्लाको हरिपुर्वा वडा नं -६ मा रामपुकार यादव लाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका छन् । गोली प्रहार गर्ने एक जाना लाई सर्लाहीका प्रहरीले पक्राउ गरेका छन्” भने दुई जाना मोटरसाइकलमा फरार भएको सर्लाहीका प्रहरीले बताउँछन् ।