मधेस प्रदेशमा सशस्त्र प्रहरीको कडा प्रहार।
राैतट जिल्लाको गरुँडा शिउनारमा बरामद गरिसकेको ८ सय ४० बोरा तस्करीको चिनीमध्ये ६ सय ८० बोरा गायब पार्ने सशस्त्र प्रहरीका दुई डीएसपी र एक एसपीलाई सशस्त्र प्रहरी बलले छानबिनका लागि मुख्यालयमा बोलाएको छ ।
बरामद गरिसकेको चिनी गायब प्रकरणको छानबिनका लागि सशस्त्र प्रहरी बल ११ नं गण रौतहटका गणपति एसपी सन्तोष बस्नेत हेडक्वार्टर तानिएका हुन् । एसपी बस्नेतसँगै सशस्त्रको सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेत पनि हेडक्वार्टर तानिएका छन । मधेश प्रदेशको छिन्नमस्ता बाहिनीले छानबिन गरिरहेका डीएसपी बस्नेतलाई मुख्यालयमै झिकाइएको छ । छानबिनका क्रममा डीएसपी बस्नेत र एसपी सन्न्तोष बस्नेत दुबैको गल्ती भेटिएपछि मुख्यालयमै झिकाएर थप छानबिनको प्रक्रिया अघि बढाइएको बताइएको छ । चिनी बरामद गर्न जाने सशस्त्रको टोलीका कमाण्ड डीएसपी अमर लामा यसअघि नै छानबिनका लागि मुख्यालय तानिइसकेका थिए ।
चन्द्रनिगाहापुरका ब्यापारी सुनिल जैसवालको उक्त ८ सय ४० बोरा चिनी रौतहटको गरुडा नगरपालिका शिवनगरमा उपेन्द्र कुशवाहाको घरमा राखिएको अवस्थामा सशस्त्र प्रहरीको गौर गुल्मका इन्चार्ज डीएसपी अमर लामाको कमाण्डमा गएको टोलीले गएको साउन २९ गते राति बरामद गरेको थियो । ७ सय बोरा मात्र चिनी गोदाममा भएको भनिए पनि वास्तवमा उक्त गोदाममा ८ सय ४० बोरा चिनी रहेको थियो । स्रोतका अनुसार चिनी गोदाममा राख्ने ब्यापारी जैसवालले सशस्त्र प्रहरीका सहायक हवल्दार मिश्रमार्फत् डिल गरेका थिए ।
मिश्रले आधा बरामद गर्ने, आधा गायब पार्ने गरी डिल गरेका थिए । तर जैसवालले आफूहरु ठूलो मर्कामा पर्ने भनेपछि २ सय बोरा बरामद गर्ने, ६ सय ४० बोरा गायब पार्नका लागि सहमति गरेका थिए । डीआईजी कृष्ण ढकालले बाहिनीबाट सोझै राख्दा हल्ला हुने भएपछि सर्लाहीमा कार्यरत मिश्रलाई नै घुमुवाका रुपमा रौतहटदेखि पर्सासम्म परिचालन गरेका छन् । चिनी गायब पार्ने मुख्य पात्र दर्जाले सानो भए पनि डीआईजी ढकालकै संरक्षणमा रहेका मिश्र नै भएको स्रोत बताउँछ । तर मिश्र भने छानबिनमा तानिएका छैनन् । दरबन्दी झापा हो मिश्रको ।
उनी सशस्त्र मुख्यालयको अनुगमनका डीएसपी सुदीप रेग्मीबाटै संरक्षित छन् । बरामद गरिसकेपछि १ सय २० बोरा मात्र देखाएर अरु ७ सय २० बोरा चिनी गायब पारिएको थियो । ब्यापारी जैसवालको प्रलोभनमा परी उक्त चिनी गायब पारिएको आरोप छ । एक एआईजीको समेत नाम लिएर जैसवालले रौतहटको ११ नम्बर गणका एसपी सन्तोष बस्नेतदेखि मधेश प्रदेशको छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी कृष्ण ढकालसम्मको पहुँच देखाएर बरामद गरिसकेको चिनी गायब पारिएको थियो । चिनी गायब पारेको आरोपमा करिब २० जनामाथि सशस्त्र प्रहरी बलले छानबिन गरिरहेको छ ।
लामासँग छापा मार्न गएको टोलीका २० जनामाथि नै छानबिन भइरहेको छ । डीएसपी लामा बाहेक छापामा जानेहरुको छिन्नमस्ता बाहिनीले छानबिन गरिरहेको छ । छापा मार्न जाने ३ जना इन्स्पेक्टर पनि तानिएका छन् । ११ नंं गण हेडक्वार्टर रौतहट, सुरक्षा बेस देवाही र सुरक्षा बेस दुधियाभारका इन्स्पेक्टरलाई बाहिनीले छानबिन गरिरहेको छ । त्यसैगरी दुईजना जुनियर सशस्त्र प्रहरी अधिकृतमाथि पनि छानबिन भइरहेको छ । चिनी गायब प्रकरण छानबिनको क्रममा लहरो तान्दा पहरो नै आउने भएको छ । चिनी गायब प्रकरणमा २ डीएसपी र एसपी तानिइसकेका छन् । अब डीआईजी समेत तानिने संभावना रहेको स्रोत बताउँछ । एसपी बस्नेत, जागिरमा प्रवेश गरेदेखि नै मधेश प्रदेशमा रजगज गएको माघ २८ गतेदेखि सशस्त्र प्रहरी गण नम्बर ११ को कमाण्ड सम्हालेका एसपी सन्तोष बस्नेत जागिरमा प्रवेश गरेदेखि नै मधेश प्रदेशका जिल्लामा मात्र कार्यरत रहेका छन् । एसपी बढुवा भएपछि पनि उनी पहिलो इन्चार्ज उनले रौतहट नै पारेका छन् । सनत बस्नेत सशस्त्रको आईजीपी हुँदा उनको पीए बसेबाहेक उनको जागिरको अभिलेख पल्टाउने हो भने मधेश प्रदेशमै कार्यरत रहेको भेटिनेछ । घर नै बीरगंज भएका बस्नेत पर्साको भन्सार गुल्मदेखि गणमा कार्यरत रहेका थिए ।
पर्साको गुल्ममा हुँदा होस् वा गणमा हुँदा उनी आर्थिक मामिलामा यसअघि पनि विवादमा परेका थिए । मधेशका सप्तरीदेखि बिभिन्न जिल्लामा बीओपी, गुल्मको इन्चार्ज भएका र मैथिली भाषासमेत राम्रो बोल्न सक्ने उनलाई प्रदेशको तस्करीको नेटवर्कबारे सबै जानकारी भएकाले उनी शक्ति लगाएरै ११ नम्बर गण रौतहटमा सरुवा भएका थिए ।
११ नम्बर गण रौतहटमा सरुवा भएपछि बस्नेतले झापाको ३८ नम्बर गणमा दरबन्दी भएका हवल्दार भाग्यनारायण यादव र संजीव झालाई घुमुवाका रुपमा परिचालन गरी असुली गर्दैआएका थिए । घुमुवा परिचालन गरी तस्करीको लाइन दिएको गुनासो सशस्त्र मुख्यालयमा पुगेपछि यादव र झालाई रमाना दिन निर्देशन दिइएको थियो ।अर्को प्रदेशमा दरबन्दी भएकाहरूलाई रमाना समेत नगरी घुमुवा बनाएर जिल्लाभर परिचालन गरेर लाभ लिएको आरोप उनीमाथि लागेको थियो । झण्डै ६ महिना झापा नपठाई उनले घुमुवाका रुपमा यादव र झालाई राखेका थिए ।