जिल्ला धनुषा,
जिल्ला प्रहरी कार्यालय धनुषाले भदौ महिना २०८२ का लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई भदौ ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक यादवले आफुले पाएको जिम्मेवारी उच्च व्यवसायिक कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छबिलाई नै उच्च राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको जनाउँदै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।
०८२ भदौ ६ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित मोबाइल पसलमा भएको चोरी प्रकरणमा उनले चोरी गर्ने ३ जनालाई पक्राउ गरी चोरी भएका मोबाईलसहितका सामान बरामद गरेका थिए।
भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मातहतका ६ प्रहरी कार्यालयमा तोडफोड वा आगजनी जस्ता अप्रिय घटना हुन नदिई शान्ति-सुरक्षा कायम राख्न उनले महत्वपूर्ण भूमिका देखाएका छन् ।
त्यसैगरी, भदौ ३१ गते विदेह नगरपालिका-३ स्थित हनिफ मन्सुरीको भगवती फिक्स इँटा भट्ठाबाट ४७५ किलो गाँजा बरामद गरी १ जना व्यक्ति र गाडी नम्बर प्रदेश ०३-०१-०२४ च ८३२५ समेत नियन्त्रणमा लिएका थिए । यस्तै, आन्दोलनकै क्रममा विभिन्न कारागारबाट भागेका कैदीमध्ये ५ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा पुर्याएका थिए।
उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक यादवलाई २०८२ साल भदौ महिनाको ‘ उत्कृष्ट प्रहरी’ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले जानकारी दिएका छन् ।


