Tuesday, February 3, 2026

जेनजी प्रदर्शनप्रहरीका साढे ४०० भवन ध्वस्त, ११०० थान हतियार लुटे:-

ताजा / भरखरै प्राप्त

जेनजी प्रदर्शनको क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४०० भवन ध्वस्त भएका छन्।प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने अवस्था नै नरहेको उनले बताए । २५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । सबैभन्दा बढी क्षति त उपत्यका भित्रैका प्रहरी कार्यालयमा भए ।
काठमाडौँ उपत्यकाका १ सय ५३ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको छ । आन्दोलन भड्किएपछि उच्छृङ्खल व्यक्तिहरूले भदौ २४ मा ललितपुरको हरिसिद्धि प्रहरी चौकीबाट आक्रमण सुरु गरेका थिए । त्यसपछि काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न प्रहरी कार्यालयहरू आन्दोलनकारीको निशानामा परेका थिए ।
उपत्यकाको ३ वटा जिल्लाका १ सय ५३ प्रहरी युनिटहरू पूर्ण रूपमा क्षति भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘आंशिक क्षति धेरैमा भएको छ ।’ काठमाडौँका १२६ वटा प्रहरी कार्यालयहरूमा पूर्ण रूपमा क्षति भएको छ । डीएसपी इन्चार्ज हुने ११ वटा प्रहरी वृत्त, १० वटा प्रभाग, ३ वटा चौकी र ३६ वटा बिटमा क्षति पुगेको छ । ललितपुरका दुई वटा वृत्त र सातवटा प्रभागमा पूर्ण रूपमा क्षति पुगेको छ । भक्तपुरका दुई वटा वृत्त, दुई वटा प्रभाग, एउटा चौकी र ३ वटा पोस्टमा पूर्ण क्षति भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित १० वटा ट्राफिक युनिटहरू पूर्ण क्षति भएका छन् । आगजनी र तोडफोडसँगै प्रहरी युनिटहरूबाट उच्छृङ्खल समूहले प्रहरी पोसाक, हतियार र सञ्चार सेट लुटेर लगेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले कमान्ड गर्ने रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालय पनि ध्वस्त भएको छ ।जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतमा प्रहरीले प्रयोग गर्दै आएको भवन पूर्ण रूपमा क्षति भएको छ ।
कार्यालयमा रहेका सवारी कति जले भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । केही सवारीहरू जलेको अवस्थामा छन् केही सवारी चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ । सवारी साधनतर्फ ठूलो क्षति भएको प्रहरी बताउँछ ।
प्रदर्शनकारीहरूले प्रहरीको हतियार समेत लुटे । प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए । लुटिएका हतियारहरूमध्ये करिब ३०० थान नेपाली सेनाले बरामदसमेत गरेको थियो । सहप्रवक्ता थापाका अनुसार सानाठूला गरी प्रहरीका ११०० थान हतियार लुटिएका छन् ।
जेन–जीको प्रदर्शनमा काठमाडौंदेखि देशभर १ हजार ९६३ प्रहरी घाइते भएको सहप्रवक्ता थापाले बताए ।घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् । २४ जना भने अझै अस्पतालमा उपचाररत रहेको बताइएको छ । प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् ।प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीहरूको तर्फबाट मारिए ।
नव जनप्रहाबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles