मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थानमा धेरै भारी वर्षा हुने भन्दै ‘रेड एलर्ट’ जारी गरेको छ।
महाशाखाले असोज १७ देखि १९ गते (एकादशीदेखि त्रयोदशी) सम्मको विवरण सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको छ ।
त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने भनिएको छ । ती स्थान पनि रेड एलर्टमा परेका छन् । रेड एलर्टमा परेका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस दिन यी पाँचै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्का पानी पर्न सक्ने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।
बुलेटिनअनुसार एकादशीको दिनबाट नेपालमा पानी पार्ने मनसुनी वायुको प्रवेश हुनेछ । यसले खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताइएको छ ।


