
नेपाल–भारत सिमानामा सुरक्षाकर्मीको मिलेमतोमा अवैध कारोबार फस्टाउँदै गएको ।बारा जिल्लाको दक्षिणी सीमाक्षेत्र मुसहरवा–छतवा बरईनिया नाकाबाट दुवै देशबीच वस्तुको अवैध कारोबार (तस्करी) व्यापक रूपमा भइरहेको तथ्य उजागर भएको छ । स्थानीय स्रोत र सिमानाक्षेत्रका व्यापारीका अनुसार दैनिक राति को समयमा दर्जनौँ ट्र्याक्टर र पिकअप गाडीमार्फत विभिन्न खाद्यान्न तथा उपभोग्य वस्तुहरूको अवैध ओसारपसार भइरहेको स्थानीयले बताउँछन् ।
नेपालतर्फबाट मकै, अकरोट, लसुन, सेव, किसमिसलगायतका वस्तुहरू ठूलो मात्रामा भारततर्फ लैजाने गरिएको छ । त्यसैगरी भारततर्फबाट बदाम, हल्दी, जीरा, काजु, पटका, कुखुराको दाना, सुख्खा मर्चा, र सामग्री नेपालतर्फ तस्करी हुने गरेको स्रोत बताउँछ ।
स्थानीयहरूका अनुसार यस कार्यमा चार जना मुख्य तस्करको नियन्त्रण रहेको छ, जसले दैनिक रूपमा सवारी साधन परिचालन गरी रातभरि मालसामान ओसारपसार गराउने गरेका छन् । उनीहरूले प्रहरी र सशस्त्र सीमा सुरक्षा बलबीचको मिलेमतोमा तस्करीको ‘लाइन’ सञ्चालन गरिरहेका छन् भन्ने आरोप छ ।
स्रोतका अनुसार बीओपी (सशस्त्र सीमा छतवा प्रहरी चौकी) छतवा बरईनिया र प्रहरी चौकी मुसहरवा–बलिरामपुरबीचको सहकार्यमा तस्करी सहज रूपमा चलिरहेको छ । मुसहरवा प्रहरी चौकीका असई. अजय पटेल, र हवल्दार गेनालालले स्थानीय व्यापारी र तस्करहरूसँग सेटिङ मिलाएर तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ । उनी यसअघि लामो समयसम्म बारा जिल्लामा हवल्दारका रूपमा रहँदा घुमुवा (सूचना संकलनकर्ता) को काम गर्दै आएका थिए ।
हाल असई. अजय पटेल,र हवल्दार गेनालाल पटेल पर्साका केही ट्रान्सपोर्ट व्यवसायीहरुसँग मिलेर बारा जिल्लाको सेमरौनगढ, मटिअर्वा, छतवा, बरैनिया र बलिरामपुरसम्म तस्करीको सञ्जाल सञ्चालन गरिरहेको बताइएको छ।
यस तस्करी सञ्जालको समन्वय तथा नियन्त्रण बारा जिल्लामा कार्यरत वरिष्ठ सई अरुण यादवले गरिरहेको आरोप पनि स्थानीयवासीहरूले लगाएका छन् । यादव बारा जिल्लाको ‘घुमुवा कमान्डर’ का रूपमा परिचित रहेका छन् , र उनीसँग तस्करी समूहको प्रत्यक्ष सम्बन्ध रहेको शंका व्यक्त गरिएको छ ।
सीमाक्षेत्रमा हुने यस्तो अवैध कारोबारका कारण सरकारी राजस्व घाटा बढ्नुका साथै स्थानीय उत्पादनमा असर परेको छ। तर, सम्बन्धित निकायले यस्ता गतिविधि नियन्त्रणका लागि ठोस पहल नगरेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।
बाराको छतवा मुसहर्वा नाकाबाट रातिको समयमा तस्करी गरेर बदनाम भए पछि, तस्कर गिराेहले दिनको समयमा बाराकाे नाकाबाट तस्करी गर्न शुरू गरेको खबर प्राप्त भएको छ । बाराका प्रायः सबै नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गर्ने गिराेह अहिले बाराका छतवा मुसहर्वा नाकाबाट समेत तस्करी गरिरहेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनका स्थानीय प्रमुखहरुलाई मासिक रकम दिने गरि तस्करीकाे लाइन लिएको समेत खुलेको छ । नेपालबाट कस्मेटिक,मकै,अकरोट,सेव,लहसुन लगायत, र भारतबाट बदाम,जीरा,काजु,कुखुरको दाना,मरेका माछा एवं फूलकाे तस्करी यो नाकाबाट तस्कर गिराेहले ठूलो मात्रामा गरिरहेकाे छ ।
तस्कर समूहले भारतकाट माेटर साइकलमा सीमामा माछा र फूल ल्याउने अनि सीमाबाट पिकअपमा हालेर अन्यत्र पठाउने ठूलो तस्करीकाे सिन्डिकेट चलाएका छन् ।