कास्कीका पोखरा महानगरपालिका–५ मा चक्कु प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।मृतक सोही स्थानका ४५ वर्षीय अनिल पराजुली रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भई मालेपाटन बसोबास गर्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेका छन् ।
हिजो शनिबार बिहान पोखरा–५ चिल्डेल पार्क नजिकै पराजुली अचेत अवस्थामा फेला परेका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरीको टोलीले उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा किशोर तिमिल्सिना र मृतक पराजुलीबीच सामान्य विवाद हुँदा तिमिल्सिनाले चक्कु प्रहार गरेको खुल्न आएको छ।
घटनामा प्रयोग भएको चक्कुसहित तिमिल्सिनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको कास्कीका प्रहरीले जनाएको छ।


