नागरिकको जीउधनको सुरक्षा गर्नु सबै तहका सरकारको दायित्व हो । तर डोजर लगाउन र फुटपाथमा मकै पोलेर जीवीकोपार्जन गर्नेहरुलाई उठीबास लगाउनुलाई मात्र विकास ठान्दैआएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले एक कलेज संचालकको प्रभावमा परी तिहार बिदाको मौका छोपेर उद्योगपति पियुषबहादुर अमात्यको बानेश्वरस्थित घरमा डोजर चलाएर भत्काइदिएका छन् ।
मेयरसाह र महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कात्तिक २ गते उद्योगपति अमात्यको नयाँबानेश्वरस्थित घर र जग्गामा जबर्जस्ती ३ वटा डोजर चलाएर वरपरको पर्खालसँगै घरको केही भाग भत्काइदिएका छन् । इन्टरनेशनल स्कूल अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) का संचालक योगेश उप्रेतीको प्रभावमा परी कानुुनी राज्यमा जबर्जस्ती ब्यक्तिको घरमा डोजर लगाई राज्यआतंक सृजना गरेको आरोप नगरप्रहरीका निमित्त एसएसपी पाण्डेमाथि लागेको छ ।
नयाँबानेश्वर, वडा नम्बर–१० स्थित मदन भण्डारी पथमा अमात्यले ४२ बर्षअगाडि २०४० सालमा घर बनाएका थिए । भिरालो जग्गामा रहेको घर भत्किन नदिने उद्देश्यले छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा खरिद गरी पर्खाल निर्माण गरिएको थियोे ।
तर, लालपूर्जा बनिसकेपछि जग्गाधनीले उक्त जग्गा बिक्री गरिदिएका थिए । ४२ बर्षपछि अहिले आएर आईएसएमटी कलेजले उक्त जग्गाको स्वामित्व आफूसँग रहेको दावी गर्दैआएको छ । र, महानगर प्रहरीका पाण्डेलाई प्रभावमा पारी आईएसएमटीले अमात्यको घरमा डोजर चलाएको छ । जग्गाको यथार्थ अवस्था नबुझी पाण्डेले कलेज संचालकको प्रभावमा परी डोजर चलाएका छन् । कलेजले भवन निर्माण गर्न लागेको छ । कलेजले महानगरको न्यायिक समितिमा मुद्दा दायर गरेको छ । जसको टुंगो नलाग्दै महानगरले जबर्जीस्ती डोजर चलाएर अमात्यको घर र जग्गाका साथै पर्खाल भत्काइदिएको छ ।
मेयर बालेनको इजलासले वैशाख ११ गते पर्खाल भत्काउन आदेश दिएको दाबी स्कूल पक्षले गरेको छ । मेयर बालेनको निर्णयउपर अमात्यले अदालतमा पुनरावेदन गरेका छन् ।जसको सुनुवाइ भइरहेका बेला कात्तिक २ गते आईएसएमटी कलेजले डोजर चलाउँदै पर्खाल भत्काएको हो । प्रक्रिया पूरा गरी,महानगरका प्रतिनिधि राखेर मात्र घर भत्काउन पाइने हो तर यस्तो नियमको कत्ति पनि पालना नगरिएको अमात्य पक्षको गुनासो छ । अदालतमा मुद्दा चल्दाचल्दै अमात्यको घर भत्काएर न्यायालयकै अवहेलना गर्ने काम राजु पाण्डे नेतृत्वको महानगर प्रहरीले गरेको छ ।
अमात्य बलजफ्तीपूर्ण बिध्वंशविरुद्ध प्रहरी वृत्त बानेश्वरमा उजुरी दर्ता समेत गर्न गएका थिए । तर प्रहरीले ‘हात हालाहालको स्थिति बनेपछि मात्र आउनू’ भन्दै फर्काएको छ ।
महानगर प्रहरी बलका बानेश्वर एरिया इञ्चार्ज शिव पौडेलले डोजर लगाए पनि आफूहरु त्यसमा संलग्न नभएको गैरजिम्मेवार जवाफ दिने गरेका छन् । त्यस दिन बिहान सवा ६ बजे नै अमात्यको घरमा डोजर लिएर भत्काउन जान लागेकोले सुरक्षा दिन पौडेलले नै बानेश्वर प्रहरी बृत्तका डिएसपी हरि खतिवडालाई गरेको पनि खुलेको छ ।
सम्बन्धनमा पनि प्रश्न
इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले आफ्ना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र नदिएर अनावश्यक दुःख दिने गरेको छ । काठमाडौं, पोखरा, चितवन, विराटनगर र बुटवलमा गरी पाँचवटा शाखा कलेज सञ्चालन गरेको आइएसएमटी कलेजले पहिले विद्यार्थी भर्ना गराउँदा विभिन्न प्रलोभनमा पार्ने र पछि विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि शैक्षिक प्रमाणपत्र नदिएर विद्यार्थीलाई उल्झनमा राख्ने गरेको आरोप छ ।
कलेजका शाखा कार्यालय कानुनतः सञ्चालन गर्न पाइँदैन । तर उक्त कलेजका सञ्चालकले कानुनी छिद्रलाई दुरुपयोग गरेर देशका पाँचवटा मुख्य सहरहरूमा शाखा विस्तार गरेका छन् । आइएसएमटी कलेजको एक शाखाले एक बर्षसम्म पनि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको आरोप छ । अध्ययन सकिएको १० महिना बितिसक्दा पनि विद्यार्थीले प्रमाणपत्र माग्दा विभिन्न बहाना बनाएर उल्झनमा पार्ने तथा डरधम्की देखाउने गरेको विद्यार्थीहरूले गुनासो गर्दैआएका छन् ।
आइएसएमटी कलेजका सञ्चालकले आफैँले चलाएको कन्सल्टेन्सीमार्फत विदेश जानुपर्ने सर्त राख्ने र त्यो सर्त स्वीकार नगरेसम्म प्रमाणपत्र नै रोकेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने गरेको आरोप छ ।
आइएसएमटी कलेज र अमेरिकन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक एकै व्यक्ति हुन् । त्यसकारण पनि विद्यार्थी सकेसम्म आफ्नै कन्सल्टेन्सीबाट विदेश पठाउने उद्देश्यले कलेज सञ्चालकले प्रमाणपत्र रोक्ने गरेका छन् ।
गतबर्ष एक विद्यार्थीको अष्ट्रेलियाको भिसा आउँदासमेत कलेजले प्रमाणपत्र दिन नमानेपछि प्रहरी प्रशासनको सहयोग लिने बताएपछि मात्र कलेजले प्रमाणपत्र उपलब्ध गराएको थियो ।आइएसएमटी कलेजको विदेशी सम्बन्धनका बारेमा पनि अनेक प्रश्न उठ्ने गरेका छन् । स्थापनाकालदेखि नै बेथितियुक्त काम गर्दै आएको यस कलेजले कहिले हर्टफोर्डसायर विश्वविद्यालयबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई झुक्याउने गरेको छ त कहिले स्नातक तहको कार्यक्रम भन्दै डिप्लोमा कार्यक्रम पढाएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने काम गरेको आरोप छ ।
अहिले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको यो कलेजले यसअघि युनिभर्भिटी अफ हर्टफोर्डसायरबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई भ्रममा राखेर अध्यापन सुरु गराउँदैआएको छ ।
नेपाल फेसबाट


