Thursday, November 20, 2025

रौतहट प्रहरीद्वारा ४० लाखभन्दा बढीको सामान बरामद:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूबाट खटिएको गस्ती टोलीले पछिल्लो २८ दिनभित्र ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ।हालै मात्र कमाण्ड सम्हालेका जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको नेतृत्वमा जिल्लाभरि शान्ति–सुरक्षा, तस्करी नियन्त्रण र लागुऔषधविरुद्धको अभियानमा उल्लेखनीय उपलब्धि हासिल भएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालयले सोमबार आयोजना गरेको पत्रकारसँगको परिचयात्मक कार्यक्रममा एसपी कार्कीले आफ्नो २८ दिनको कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका थिए ।
उनले कात्तिक २ गतेदेखि ३० गतेसम्मको अवधिमा जिल्लामा भन्सार छली, लागुऔषध कारोबार, फरार प्रतिवादी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण लगायतका क्षेत्रमा ठोस परिणाम देखिएको बताए।उनकाअनुसार पछिल्लो २८ दिनमा जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरूले तस्करहरूले बिभिन्न नाकाबाट भित्र्याएको ३८ लाख २० हजार ३०२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेका छन्।
सोही क्रममा तस्करीमा प्रयोग भएका ५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन् भने तस्करीमा संलग्न ५ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। यसै अवधिमा २ लाख ५० हजार रुपैयाँको स्रोत नखुलेको हुण्डी रकम समेत बरामद गरिएको छ।फैसला कार्यान्वयनको क्षेत्रमा पनि रौतहट प्रहरीले प्रगति देखाएको छ। २८ दिनमै १० जना प्रतिवादी पक्राउ परेका छन् भने उनीहरूबाट ४ लाख २४ हजार ६०० रुपैयाँ असुल–उपर गरिएको छ। जेने–जी आन्दोलनताका गौर कारागारबाट फरार भएका ९ कैदीसहित ३३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी एसपी कार्कीले दिए।लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरीले कडाइ गरेको छ। नुफिन, फेनारगन, बुप्रेनर्फिन, केरज्याक र डायजिपाम गरी १५०० थान नशालु इन्जेक्सनसहित २ जनालाई पक्राउ गरिएको उनले बताए।


त्यस्तै, १७ जना शंकास्पद लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएर पहिचान तथा परामर्शपछि छोडिएको छ। जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो रहेकाले १८ वटै स्थानीय तहमा घर–घरमा पुगेर अभियान सञ्चालन गर्ने तयारी भइरहेको कार्कीको भनाइ थियो।ट्राफिक व्यवस्थापनतर्फ हेर्दा, सोही २८ दिनमा जिल्लाभर १०८ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ३ जनाको मृत्यु, १४ जना गम्भीर घाइते तथा १७५ जना सामान्य घाइते भएका छन्।दैनिक १० स्थानमा सञ्चालन गरिएको संयुक्त चेकजाँचका क्रममा बिना हेल्मेट, मापसे, कागजपत्रविहीन सवारी लगायत ४७५ सवारीसाधनमाथि कारबाही गरी ४ लाख २३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि ३४४ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको, जसबाट ५ हजार ७७० जना लाभान्वित भएको कार्कीले बताए।कार्यक्रममा एसपी कार्कीले जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण, तस्करी रोकथाम तथा शान्ति–सुरक्षा मजबुत बनाउन छुट्टै अभियान सञ्चालन गरिने घोषणा गरे।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लामा रहेको समस्त सुरक्षा निकायसँग सहकार्य भइरहेको उनले जानकारी दिए। साथै, प्रहरी आचरणविपरीत कार्यमा संलग्न हुने जो–कसैलाई ऐन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत उनले दिए।नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles