प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई सरुवा गरेको छ । धादिङका एसपी भेषराज रिजाललाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयले सुमित खड्कालाई पठाउने निर्णय गरेको हो । रिजाल ३ महिनाअघि मात्र धादिङ गएका थिए ।खड्का प्रहरी हेडक्वार्टरमा कार्यरत थिए । यसअघि बाराका एसपी सन्तोष तामाङलाई पनि प्रहरी हेडक्वार्टर फिर्ता बोलाउने निर्णय गरिएको थियो । बारामा एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।
बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो ।
जेनजी प्रदर्शनकारीले आफ्ना समर्थकलाई कुटपिट गरेको आरोपमा ९ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले दुईजना वडा अध्यक्ष सहित केही आरोपीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्धिन अन्सारी छन् ।
नव जनप्रहारबाट ।


