मटिअर्वा सीमा नाकामा भारतबाट ल्याइने सामान जाँच–जाँचको विषयमा स्थानीयवासी र सशस्त्र प्रहरीबीच विवाद भएको छ । दैनिक उपभोग्य वस्तु बोकेर आउने सर्वसाधारणलाई अनावश्यक रोकेर हैरान–परेशान बनाइने गरेको स्थानीयहरुको आरोप रहेको छ।
स्थानीयका अनुसार चामल, दाल, चिनी, मरिच, हल्दी, घरेलु गरम मसला तथा लत्ता–कपडा जस्ता अत्यावश्यक सामग्री सानो मात्रामा ल्याउँदा पनि प्रहरी असहज व्यवहार गर्ने, सामान समात्ने तथा दबाब दिने गरेकाले सामान्य नागरिक दिनहुँ समस्या झेल्न बाध्य भएका छन् ।
यता त्यही नाकामार्फत ठूलो मात्रामा कपडा, हार्डवेयर, किराना तथा उच्च मूल्यका सामग्री ल्याउने केही व्यक्तिहरू भने सुरक्षाकर्मीहरुसँग ‘सेटिङ’ मिलाएर सहजै आवत–जावत गरिरहेको स्थानीयहरूको गुनासो रहेको छ ।
यसरी सामान्य नागरिकलाई रोक्ने तर सबैभन्दा बढी महसुल पर्ने समान ल्याउनेहरूलाई खुला छुट दिने कार्यले स्थानीयमा आक्रोश बढेको बताइएको छ।
घटनास्थलमा स्थिति चर्किएपछि स्थानीयवासीले “नाकामा दोहोरो मापदण्ड सह्य छैन” भन्दै सशस्त्र प्रहरीसँग वाद–विवाद गरेका थिए। उनीहरूले नाकामा हुने अनियमितता, मनोमानी जाँच र भेदभावपूर्ण प्रणाली तत्काल बन्द गर्न माग गरेका छन्।
घटनाबारे सशस्त्र प्रहरी पक्षले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर स्थानीय बासिन्दाहरूले नाका व्यवस्थित, पारदर्शी र सबैका लागि समान रूपमा सञ्चालन गर्न सम्बन्धित प्रशासनलाई माग गरेका छन् ।


