

बारा मंसिर ९ नुर आलम नेपाल–भारतको सीमाक्षेत्र बाराको मुसहरवा–बरौनिया नाकामा विवाह, छेका (धार्मिक तथा सांस्कृतिक कार्य), बिरामी बोक्ने सवारी तथा अटो रिक्षा आवत–जावतमा रोकावट र झन्झट बढेपछि स्थानीय बासिन्दा गम्भीर रूपमा प्रभावित भएका छन्।
सीमामा कडाइ र कागजी प्रक्रियाको झन्झट बढेपछि आपतकालीन अवस्थामा बिरामी लिएर अस्पताल जाने पारिवारिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने दैनिक कामकाजका लागि सीमा पार गर्ने अटो तथा साना सवारी साधन सञ्चालन गर्ने सबैमा समस्या देखिएको स्थानीयले बताएका छन्।
उक्त समस्यालाई ध्यानमा राख्दै नेपाल–भारत दुवै तर्फका प्रशासन, सुरक्षा निकाय, विश्रामपुर तथा आसपासका स्थानीय तहका पदाधिकारीबीच निरन्तर छलफल भइरहेको छ। स्थानीय बासिन्दाको जीवन सहज बनाउन सीमा क्षेत्रमा व्यवहारिक तथा मानवियतापूर्ण सहजीकरणको आवश्यकता रहेको अधिकारीहरूले स्वीकार गरेका छन्।
गाउँपालिका तथा स्थानीय जनप्रतिनिधिहरूले विवाह, छेका, बिरामी बोकेका सवारी तथा दैनिक सेवामा संलग्न साना गाडीलाई अनावश्यक रोकावट बिना सहज रूपमा आवत–जावत गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन्। साथै दुवै देशका सीमा सुरक्षाकर्मीबीच आपतकालीन सवारीलाई प्राथमिकता दिने, स्थानीय आवागमनका लागि सरल पास प्रणाली, र सीमामा सहजीकरण कक्ष गठन जस्ता उपायहरूबारे छलफल भइरहेको जनाइएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार मुसहरवा–बरौनिया नाकामा निरन्तर समस्या बढिरहेकाले दुवै देशका निकायले तुरुन्त व्यवहारिक समाधान ल्याउनुपर्ने माग गरिएको छ।
छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको र चाँडै नै समाधानमा पुग्ने आशा स्थानीयले व्यक्त गरेका छन्।


