उत्तर प्रदेशको हापुडस्थित गढमुक्तेश्वरमा पुत्लाको अन्तिम संस्कार गर्न आएका चार व्यक्तिमध्ये दुई जना पक्राउ परेका छन् । हरियाणा नम्बरको कारमा आएका उनीहरूले मृत व्यक्ति होइन, पुत्ला चितामा राखेर जलाउने प्रयास गरेको स्थानीयले देखेपछि घटनाको पर्दाफास भएको हो । घटनास्थल ब्रजघाटस्थित श्मशानघाट हो। बिहीबार दिउँसो HR नम्बरको i20 कारमा चार जना पुरुष पुत्ला बेरेर श्मशान पुगे। उनीहरूले नगरपालिकाबाट पर्चीसहित घी, काठलगायत अन्त्येष्टि सामग्री किनेका थिए। तर चितामा राखिएकाे शव पुत्ला भएको देखेपछि स्थानीयले अवरोध गरे र प्रहरीले खबर गरियो। स्थानीयले घेराबन्दी गरेपछि चारमध्ये दुई जना फरार भए भने दुईलाई प्रहरीले नियन्त्रणमा लियो। कारमा तलासी गर्दा दुईवटा थप डमी पुत्ला भेटिएको प्रहरीले जनाएको छ।
५० लाख बीमा ठगीका लागि रचिएको षड्यन्त्र फेल । प्राथमिक अनुसन्धानमा यो पूरा योजना कपडा व्यापारी कमल सोमानीले रचेको खुलेको छ। उनले आफ्नै नौकर अंशुलको नाममा करिब ५० लाख रुपैयाँको बीमा गरेका थिए। यिनै नौकरलाई मृत देखाएर पुत्लाको अन्त्येष्टि गरी नक्कली मृत्यु प्रमाणपत्र बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
अस्पतालले ‘गल्तीले नकली शव दिएको’ भन्ने आरोपितहरूको दाबी सार्वजनिक भए पनि कारमा भेटिएका अन्य पुत्लाले उनीहरूको योजना झनै शंकास्पद बनाएको प्रहरीले बताएका छन् । घटनाको भिडियो पनि सार्वजनिक भएको थियो,सो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुँदै जम्मा भएका भीड, स्थानीयको आक्रोश र पुत्ला चितामा राखिएको दृश्य देखिएको छ । श्मशानकर्मीहरूले पनि पुत्ला देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताइएको छ ।
प्रहरीको अनुसन्धान जारी रहेको छ ।
प्रहरीको नियन्त्रणमा रहेका दुईजनालाई प्रहरीले सोधपुछ गरिरहेको छ। बीमा कम्पनीबाट ५० लाख ठगी गर्न बनाईएको ठूलो योजना भएको आशंका प्रहरीले व्यक्त गरेको छ। प्रहरीले फरार दुईजनाको खोजी गर्दै घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।सभार ।


