


बारा प्रहरीले बाराका छतवा नाकाबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ खेखरिया स्थितबाट प्रहरीले २१ ग्राम ६५० मिलिग्राम लागूऔषध कोकिन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको बाराका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले हिजो बुधबार दिउँसो करिब २ को समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 AV 3532 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको सई. ठगुन्नाले जानकारी दिएका छन् ।
बारा प्रहरीका अनुसार मोटरसाइकलको पछाडि दूध बोक्नेगरी बनाइएको फलामे साँचोमुनि जुटको बोरामा १९ वटा सेतो प्लास्टिकका प्याकेटमा लुकाइ–छिपाइ ल्याइराखिएको कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषधसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बारा प्रहरी प्रवक्ता डीएसपी विजय राज पण्डितले जानकारी दिएका छन् ।
लागू औषध मोटरसाइकलसहित पक्राउ परेका मानिस भारतको पूर्वी चम्पारण,बिहार नायकटोलका ३५ वर्षीय लाल बाबु साह रहेका छन् । घटनाबारे अनुसन्धान अघि बढाइरहेको बाराका प्रहरीले जनाएको छ ।


