पर्सा प्रहरीले गाँजासहित दुई जना गाँजा तस्करलाई पक्राउ गरेको छन् ।
पर्सा जिल्लाका पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ रङ्गपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक रामनिवास सामह नेतृत्वको टोलीले बी ए बी २३९८ नम्बरको कारसहित १०४ केजी गाँजा र कारामा सवार मकवानपुर जिल्लाको कुमार स्याङ्ताङ र मकवानपुरकै भीमफेदी–८ का भीम स्याङ्ताङलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
गाँजा र कारसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरी चौकी रङ्गपुरटाँडीमा राखिएका बेला मंगलबार नै अपरान्ह गाँजाका २ कारोबारी र उनिहरुका ३ जना दलालहरु केहि मान्छेहरुको भिड लिएर प्रहरी चौकीमा पुगेर हुलहुज्जत गर्न खोजेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक साहको आग्रहमा ईलाका प्रहरी कार्यालय पेटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वमा १५ जनाको थप टोली प्रहरी चौकी रङ्गपुरटाँडीमा पुगेपछि कारोबारी र दलालहरु त्यहाँबाट फरार भएका थिए ।
मकवानपुरको मनहरीबाट १० पोका गाँजा लोड गरेर बी ए बी २३९८ नम्बरको कार बाराको जीतपुर, त्यहाँबाटं जनता सडक हुदैं पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ सोनवर्षातर्फ जाँदै गरेका अवस्थामा प्रहरीले कारमा सवारसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक साहले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएको गाँजासहितको कार र दुई जना व्याक्तिलाई प्रहरी चौकी रङ्गपुरटाँडीमा राखिएका बेला केहि व्याक्तिहरु आएर होहल्ल गर्न खोजेपछि प्रहरीको थप टोली पुग्दा उनिहरु त्यहाँबाट भागेको प्रहरी निरीक्षक थापाले बताए ।नियन्त्रणमा लिइएको गाँजासहितको कार र दुई जना व्याक्तिलाई सोमबारै साँझ जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उनले बताए ।
यता गाँजासहित पक्राउ परेकाहरुले गाँजाको तस्करीमा आँफुहरुको नाम पोलेपछि त्यसबाट उन्मुक्ति पाउन कारोबारी र दलालहरु मंगलबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालयमा धाउन थालेको प्रहरी श्रोतले जनाएको छ ।
यता प्रहरीले भने गाँजा र तस्करहरु छुटाउन प्रहरी चौकीमा पुगेर हुलहुज्जत गर्न खोजेका कारोबारी र दलालहरु बारे खोजिनीति गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।
छिमेकी मुलुक भारतको बिहारमा विधान सभाको निर्वाचनका बेला रोकिएको लागू औषध गाँजा, चरेस र अफिमको तस्करी चुनाव सकिए लगत्तै फेरि सुरु भएको छ । मकवानपुर र धादिङ्गका पहाडी भेगमा उत्पादित गाँजा, चरेस र अफिम भरिया र गाडीमा मार्फत पर्साको ग्रामीण भेगमा ल्याएर भण्डारण गरिन्छ । त्यहाँबाट ती लागू औषध पर्साको ग्रामीण भेगका नाका हुदैं भारतमा तस्करी हुदैं आएको छ ।


