Thursday, February 26, 2026

बिरगंज उद्योग वाणिज्य सङ्घमा‘गणेश प्रवृत्ति हावी,पदाधिकारी असन्तुष्ट:-

ताजा / भरखरै प्राप्त

बिरगंज, १९ मंसिर —२०८२,
बिरगंज उद्योग वाणिज्य सङ्घभित्र पछिल्ला गतिविधिहरूले आन्तरिक विवाद झनै चर्किएको छ। अध्यक्षले गणेश प्रवृत्ति बढाउँदै आएका, आफूसँग निकट व्यक्तिहरूलाई मात्र अवसर प्रदान गरेको, संघीय निर्णय प्रक्रियामा पदाधिकारीको सुझाव बेवास्ता गरेको र संघको नाममा मनपरी खर्च र उपहार वितरण गरेको जस्ता आरोपहरू सार्वजनिक रूपमा उठ्न थालेका छन्।

सङ्घका एक पूर्व अध्यक्षसहित केही वरिष्ठ पदाधिकारीहरूले आफ्नो नाम नखुलाउने शर्तमा न्यूज आजतक दैनिकलाई जानकारी दिँदै भने,
“अध्यक्षको एकल निर्णयले सङ्घको छवि मात्र होइन, सदस्यहरू बीचको विश्वाससमेत कमजोर बन्दै गएको छ।”

कलकत्ता बन्दरगाह भ्रमणमा ‘निजी समूह’ मात्र सहभागी
स्रोतका अनुसार, सङ्घको तर्फबाट हुनुपर्ने कलकत्ता बन्दरगाह अध्ययन–भ्रमणमा अध्यक्षले मनपरी सूची बनाएर,
आफू निकट व्यक्तिहरू र अनुयायीहरूलाई मात्र समावेश गरेको आरोप छ।
यस विषयमा अन्य पदाधिकारीसँग कुनै छलफल नगरी गरिएको निर्णयले धेरै सदस्यहरू अपमानित र उपेक्षित भएको महसुस गरिरहेका छन्।

महानगरपालिकालाई फर्निचर हस्तान्तरण—पदाधिकारी अनभिज्ञ
बिरगंज महानगरपालिकालाई सङ्घकै नाममा फर्निचर र सर–सामान हस्तान्तरण गरिएको जानकारी समेत पदाधिकारीले पछि मात्र पाएका छन्।
यस्ता महत्त्वपूर्ण निर्णयहरू आन्तरिक बैठक वा आधिकारिक प्रक्रिया बिना एकल रूपमा गरिएको भन्दै पदाधिकारीहरू चर्को आपत्ति जनाइरहेका छन्।

उनीहरूका अनुसार,
“सङ्घ कुनै व्यक्तिको निजी संस्था होइन । सामूहिक निर्णय बिना सार्वजनिक निकायलाई सामग्री दिने अभ्यास संस्थागत मर्यादाविरुद्ध छ।”

दशैं–तिहारमा महँगा उपहार वितरणको आरोप
अध्यक्षले दशैं–तिहारका अवसरमा महँगा रक्सी, काजु, किसमिस, ड्राइफ्रुटलगायतका उपहार वितरण गरेको,
त्यसका लागि सङ्घको स्रोत र साधनको दुरुपयोग गरेको आरोप छ।

यसबाहेक, एसपी कार्यालय, सिडिओ कार्यालय लगायत सरकारी कार्यालयहरूमा समेत महँगा उपहार पुर्‍याउने कार्य अध्यक्षकै निर्देशनमा गरिएको दाबी सदस्यहरूले गरेका छन्।

मुद्दामा परेकालाई ‘जमानत मिलाउन’ प्रशासनमा दबाब ?
सङ्घसँग प्रत्यक्ष सम्बन्ध नभएका तर अध्यक्ष निकट रहेका केही व्यक्तिहरूका मुद्दामा जमानत प्रक्रियामा प्रभाव पार्न स्थानीय प्रहरी प्रशासनमा दबाब सिर्जना गरिएको आरोप पनि सुनिएको छ।
स्रोतका अनुसार, यो व्यवहार सङ्घको प्रतिष्ठा र नैतिक मान्यता विपरीत छ।

पत्रकारलाई उपहार—‘समाचार रोक्ने’ उद्देश्य?
सङ्घभित्र भइरहेको मनपरी खर्च र सम्भावित अनियमितता सार्वजनिक नहोस् भनेर
केही पत्रकारलाई उपहार वितरण गर्ने, भ्रमणमा लैजाने तथा विशेष पहुँच दिने जस्ता गतिविधि गरिएको आरोप पनि उठिएको छ।

एक पूर्व पदाधिकारीका अनुसार,
“समाचार रोकिन्छ कि भन्ने हिसाबले पत्रकारलाई उपहार बाँड्ने प्रवृत्ति खतरनाक छ। यो संस्थाको पारदर्शितासँग खेलबाड हो।”

सदस्यहरूको प्रश्न: यस्तो प्रवृत्ति कहिले अन्त्य हुन्छ?
लगातार बढ्दै गएको आन्तरिक असन्तुष्टि,
निर्णय प्रक्रियामा पारदर्शिताको कमी,
उपहार–राजनीति,
आफूपक्षीय व्यक्तिहरूलाई मात्रै अवसर र सुविधा वितरण जस्ता गतिविधिले
बिरगंज उद्योग वाणिज्य सङ्घको साख नै कमजोर बन्दै गएको सदस्यहरूको तर्क छ।

स्रोतका शब्दमा—
“सङ्घ अध्यक्षको निजी शैलीमा होइन, संस्थागत नियम र मर्यादामा चल्नुपर्छ। अन्यथा उद्योग–व्यवसायीको साझा संस्था जोखिममा पर्छ।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles