
मङ्सिर २१, इसत्याक अहमद मध्यान्ह सप्तरी ।
सप्तरी जिल्लाको जाजरको बनौली नन्कार, बोदेबरसाइन नगरपालिका–५ मा अवस्थित मदरसा जामेतुल इस्लामियामा जमिअत उलमाए नेपालको चौथो केन्द्रीय अधिवेशन सम्पन्न भएकोछ। अधिवेशनको उद्घाटन समारोह मौलाना मुफ्ती खालिद सिद्दीकीको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माननीय राज बाबु रहनुभएको थियो। अतिथिका रूपमा बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतिश कुमार चौधरी, वडा नं. ५ का वडाध्यक्ष मिग्रन्द्र सिंह तथा वडा अध्यक्ष महबुब मियाको उपस्थिति थियो।
राष्ट्रगानबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो, जसको सञ्चालन मुफ्ती समिमले गर्नुभएका थियो।
विभिन्न जिल्लाबाट आएका पदाधिकारी, प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको अधिवेशनमा संगठनका आगामी योजनाहरू, संरचनागत सुधार, सामाजिक तथा धार्मिक विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय राज बाबुले एकता कायम रह्यो भने संगठनले देशभर सामाजिक सद्भाव, धार्मिक शिक्षा, गरिब तथा उत्पीडित समुदायको चेतना अभिवृद्धि र मानव सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी जमिअत उलमाए नेपालका उपाध्यक्ष मौलाना असगर अली मदनीले “हाम्रो एकता नै हाम्रो पहिचान हो। एकता कमजोर भएमा गतिविधिमा प्रभाव पर्छ, त्यसैले संगठन मजबुत बनाउनु आवश्यक छ,” भन्नुभयो।
मौलाना कारी हनिफ नदवीले मदरसा संघको काम पनि अघि बढाइरहेको बताउँदै सामाजिक सञ्जालमा मुस्लिम समुदायविरुद्ध फैलाईने गलत प्रचारप्रति सतर्क रहन आग्रह गर्नुभयो। मौलाना मसिउल्लाह नदवीले सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा कमजोरी रहेको उल्लेख गर्दै समाजमा दहेज प्रथा जस्ता विकृतिबिरुद्ध सबै मिलेर अभियान चलाउनुपर्नेमा जोड दिनुभयो।
मौलाना मोहम्मद समिउल्लाह नदवीले विद्युतिय सञ्चार माध्यमको दुरुपयोगका कारण युवाहरूमा बेथिति बढ्दै गएको बताउँदै अभिभावकले घर–परिवारमा कडाइका साथ निगरानी राख्नुपर्ने सुझाव दिनुभयो।
नगरप्रमुख आतिश कुमार चौधरीले सामाजिक विकास, धार्मिक सहिष्णुता, शिक्षा गुणस्तर वृद्धि तथा बढ्दो महिला हिंसाविरुद्ध संयुक्त रूपमा अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो।
अन्त्यमा जमिअत उलमाए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दीकीले २०६४ सालदेखि सक्रिय यो संस्था अहिले १७/१८ वर्ष पूरा गर्दै गरेको उल्लेख गर्दै “जमिअत उलमाए नेपाल संविधान र कानुनको दायरामा रहेर सबै समुदायका लागि काम गर्ने संस्था हो,” भन्नुभयो।
उहाँले केही तत्वहरूले मुस्लिम समुदायलाई रोहिंग्या वा बंगलादेशी भन्दै विवाद सिर्जना गर्न खोजेको उल्लेख गर्दै त्यसो गर्नेहरूमाथि चेतावनी दिनुभयो। “यो देशमा मुस्लिम समुदायका पनि बराबरी अधिकार छन्। हक–अधिकारका सवालमा हामी पछि हट्दैनौँ,” अध्यक्ष सिद्दीकीले कडा रूपमा प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम समापनपछि बन्द सत्र शुरु भएको थियो। पुरानो समितिलाई विघटन गर्दै करिब तीन घण्टासम्म चलेको छलफलपछि सर्वसम्मत रूपमा मौलाना मोहम्मद खालिद सिद्दीकीलाई केन्द्रीय अध्यक्ष र अब्दुल जब्बारलाई कोषाध्यक्षमा चयन गरिएको घोषणा गरिएको थियो।
अध्यक्षको नेतृत्वमा केन्द्रीय सदस्यहरू चयन गर्ने सहमति भएको बन्द सत्रमा देशका विभिन्न जिल्लाबाट—सुनसरी, मोरङ, बार, पर्सा, रौतहट, बाँके, कपिलवस्तु, काठमाडौं, चितवन आएका मौलानासहित करिब दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो। अधिवेशन मुस्लिम परम्परा अनुसार दुवा–प्रार्थनासँगै सम्पन्न भएको थियो।


