काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता सक्रिय रहँदै आएको सुनका सिक्री तथा गरगहना लुट्ने संगठित गिरोहलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालाजु र बौद्ध क्षेत्र केन्द्रित भएर रातको समयमा लुटपाट गर्दै आएको गिरोहका सिन्धुली जिल्लाका दुई जना सहित १० जना प्रहरीद्वारा पक्राउ परेका छन् ।
गएको बुधबार राति कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा प्रहरीले गोली हानेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूमध्ये अधिकांश जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन् । प्रहरीले चलाएको गोलीबाट घाइते भएका व्यक्ति प्रहरी वृत्त, महाराजगञ्जबाट भागेको खुलेको छ ।
धारिलो हतियारसहित समूह बनाएर हिँडेको उक्त गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी काठमाडौंका डीएसपी कौशल बुढाथोकीले बताएको हो ।


