Thursday, February 26, 2026

वीरगंजको आँसु पुछ्न र अस्मिता जोगाउन सिए अजय चौरसियाको ‘शंखघोष’

ताजा / भरखरै प्राप्त

वीरगंज, फागुन ९ । मुलुककै आर्थिक इन्जिन मानिने वीरगंज आज आफैं भित्रभित्रै निसास्सिएको छ । सडकमा उड्ने धुलो, सिर्सिया नदीको दुर्गन्ध र बेरोजगारीका कारण रित्तिएका घरका ढोकाहरूले वीरगंजको एउटा दुखद कथा सुनाइरहेका छन् । यही पीडा र छटपटीका बीच “अब अति भयो, वीरगंजको शोषण अन्त्य हुनुपर्छ” भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सिए अजय चौरसिया एउटा नयाँ आशा र क्रान्तिकारी एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।

आर्थिक राजधानी कि केवल कर तिर्ने मेसिन ?
चौरसियाले आफ्नो चुनावी अभियानका क्रममा वीरगंजको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले प्रश्न गरेका छन्— “जुन सहरले देशको ढुकुटी भर्छ, त्यहीँका युवा किन राहदानी बोकेर खाडीको तातो घाममा सेकिन बाध्य छन् ?” उद्योगहरू बन्द हुनु, चरम भ्रष्टाचार बढ्नु र बाढीले बर्सेनि वीरगंजबासीको सपना बगाउनुलाई उनले ‘असफल नेतृत्वको परिणाम’ भनेका छन् । उनको उद्घोष छ, “अब वीरगंजलाई प्रयोग गर्ने राजनीति होइन, वीरगंजलाई प्राथमिकता दिने नेतृत्व चाहिन्छ ।”

भ्रष्टाचार विरुद्धको ‘युद्ध’ र रोजगार क्रान्ति अजय चौरसियाको मुख्य एजेन्डा भ्रष्टाचारको जरो उखेल्नु हो । उनले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न ‘स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ गठन गर्ने र बेरुजु फछ्यौट नगर्नेको पदोन्नति र पेन्सन समेत रोक्ने साहसिक योजना अघि सारेका छन् ।

“राजनीति कमाउने धन्दा होइन, सेवा हो” भन्ने मान्यता बोकेका उनले ५ वर्षमा ५ लाख र वार्षिक १.५ लाख नयाँ रोजगारी सिर्जना गर्ने ‘रोजगार क्रान्ति’ को संकल्प गरेका छन् । वीरगंजका उद्योगमा स्थानीयलाई पहिलो प्राथमिकता दिनुलाई उनले आफ्नो कानुनी प्रतिबद्धता बताएका छन् ।

महिला र दलितको सम्मान: अधिकार मात्र होइन, न्याय
समाजका उत्पीडित वर्गको पक्षमा बोल्दै उनले महिला उद्यमीलाई २५ प्रतिशत ब्याज छुट, सुत्केरी महिलालाई ६ महिना बिदा र एकल महिलाको भत्ता वृद्धिको एजेन्डा ल्याएका छन् । “अब विभेद होइन, सम्मान” भन्ने नाराका साथ उनले दलित अधिकार दशक घोषणा गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने वाचा गरेका छन् ।

वीरगंजको पुनर्जागरण: चिनी मिलदेखि सिर्सिया संरक्षणसम्म
वीरगंजको पहिचान बोकेका कृषि औजार कारखाना र चिनी मिललाई पुनः सञ्चालन गर्ने उनको योजनाले किसान र मजदुरमा उत्साह थपेको छ । साना व्यवसायीलाई वार्षिक १२ लाख रुपैयाँसम्मको आयकरमा पूर्ण छुट दिने र बैंकहरूको मनपरी अन्त्य गर्ने कुराले मध्यम वर्गीय व्यापारीमा आशा जगाएको छ । साथै, वीरगंजलाई धुलो र फोहोरको प्रतीकबाट मुक्त गरी ‘स्मार्ट सिटी’ बनाउने र सिर्सिया नदीलाई पुरानै अवस्थामा सफा र स्वच्छ बनाउने उनको दीर्घकालीन गुरुयोजना छ ।

अन्तिम निर्णय मतदाताको हातमा यो निर्वाचन केवल एक प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो वीरगंजलाई बनाउने कि बिगार्ने भन्ने निर्णायक मोड हो । “वीरगंज उठ्छ भने देश उठ्छ” भन्ने दृढ विश्वासका साथ चौरसियाले मतदातालाई डर र प्रलोभनमा नपरी आफ्नो भविष्यको निर्णय आफैं गर्न अपिल गरेका छन् । अब हेर्न बाँकी छ, वीरगंजले आफ्नो अस्मिता जोगाउन र विकासको नयाँ युग सुरु गर्न सिए अजय चौरसियाको यो ‘भावनात्मक र विकासवादी’ आह्वानलाई कसरी अनुमोदन गर्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles