रौतहट जिल्लाको सदरमुकाम गौर–६ को सवगढा गाउँमा भएको आगजनी र झडपको घटना रोक्न स्थानीय प्रशासनले तीन वटै सुरक्षा निकाय परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अहिले गौर लगायत क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले राैतहटले जनाएको छ । झडप क्षेत्रमा सेना परिचालन गरिएको छ,भने सामाजिक सद्भाव कायम राख्न राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आग्रह गरेका छन् ।
झडपका घटना रोक्ने प्रयासमा सुरक्षाकर्मी निकाय लागिरहेको बताउँदै प्रजिअ भुसालले भित्री क्षेत्रमा केही मानिसहरुले ढुङ्गामुडा गरे पनि बजार क्षेत्र शान्त रहेको बताएका छन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ भने आज दुई दिनदेखि भएको झडप रोक्न स्थानीय प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यु लगाए पनि भित्री भागमा ढुंगामुडा प्रहारका घटना भइरहेको स्थानीयले बताउँछन् ।


