रौतहटको चारै क्षेत्रमा सेनाद्धारा मोटरसाइकलबाट पेट्रोलिङ, प्रत्येक क्षेत्रमा एक–एक गुल्म फौज परिचालन भएको छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा नेपाली सेना, र नेपाल प्रहरीको संयुक्तद्वारा मोटरसाईकल पेट्रोलिङ सुरु गरिएको जनाइएको छ।
गौरस्थित नारायणदल गणले जिल्लाका चारै निर्वाचन क्षेत्रमा मोटरसाइकल पेट्रोलिङ सुरु गरेको जनाइएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले पैदल, गाडी तथा मोटरसाइकल मार्फत नियमित गस्ती गरिरहेका छन् ।
नारायणदल गण गौर पुरेनवादरबारको अनुसार संसदीय निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा मेजर (सेनानी) को कमाण्डमा प्रत्येक क्षेत्रमा एक–एक गुल्म फौज परिचालन गरिएको छ। एक गुल्ममा करिब ११० जना सैनिक रहने व्यवस्था रहेको उनले जानकारी दिएको छन् ।

जिल्लाका सबै पालिकामा सेना तैनाथ भइसकेको छ, र निर्वाचन मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दिन–रात गस्ती सञ्चालन गरिरहेका छन् ।
सेनाले अति संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने, आवश्यक परे अन्य सुरक्षा निकायलाई सहयोग गर्ने, मतपेटिका ढुवानी तथा मतगणना स्थलको सुरक्षा मजबुत पार्ने कार्य गर्ने जनाएको छ । मतदान प्रक्रिया सम्पन्न भई अन्तिम मतपरिणाम घोषणा नभएसम्म सेना आफ्नो कार्यक्षेत्रमै रहने बताइएको छ।
राजनीतिक रूपमा मधेश प्रदेशकै संवेदनशील जिल्लामध्ये मानिने रौतहटमा विगतका निर्वाचनहरूमा दलहरूबीच तनाव, झडप तथा धाँधलीको आशंका देखिँदै आएको सन्दर्भमा यसपटक राज्यले सुरक्षा संयन्त्र कडा बनाएको देखिन्छ । सेना परिचालनले सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न मनोवैज्ञानिक प्रभाव समेत पार्ने अपेक्षा गरिएको जनाइएको छ ।


