जनकपुरधाममा टिपरले लियो महिला ट्राफिक प्रहरी महतोको ज्यान, प्रहरी निरीक्षक इन्सपेक्टर यादव सामान्य घाइते भएका छन् ।
धनुषा जिल्लाको जनकपुरधामको व्यस्त सडक बाटोमा टिपरले मोटरसाइकलको पछाडिबाट ठक्कर दिँदा एक जना ट्राफिक प्रहरी महिलाको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त २६ वर्षीया प्रहरी जवान चन्द्रकला महतो रहेकी छन् । दुर्घटनामा मोटरसाइकल चालक मधेश प्रदेश प्रहरी कार्यालय, धनुषामा कार्यरत्त विजय यादव सामान्य घाइते भएका छन् ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार आज दिउँसो २.३० बजेको समयमा जनकपुरधामको मुरलीचोकबाट जिरोमाइलको तर्फ प्रहरी निरीक्षक यादवले चलाएर जाँदै गरेको प्रदेश २- ०२-००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट गइरहेको प्रदेश २- ०३-००१ क ०१०४ को टिपरले ठक्कर दिएको जनाइएको छ। मोटरसाइकलमा पछाडि सबार ट्राफिक प्रहरी जवान महतोको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताउँछन् ।
मृतक महिला महतो महोत्तरीको बर्दिबास नगरपालिका पशुपतिनगरकी बासिन्दा रहेकी छन् ।
एक महिना अघि पनि जनकपुरधाममा तिव्रगतिका कारणले दुई टिपरले एकै दिन दुई छुट्टा छुट्टै स्थानमा एक पुरुषको पछाडिबाटै ठक्कर दिएर ज्यान लिएको थियो, भने अर्की एक जना महिलालाई टिपरले गम्भीर घाइते बनाएको थियो ।


