कक्षा १२ को परीक्षा सञ्चालन नगरेको विरोधमा विद्यार्थीको चक्का जाम, वीरगञ्ज घण्टाघर र हरि खेतान क्याम्पस क्षेत्रमा सडक अवरुद्ध:-बिरगञ्ज (पर्सा), चैत ८ गते।

वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर अगाडि आइतबार हरिखेतान क्याम्पसका विद्यार्थीहरूले चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका छन्। कक्षा १२ को परीक्षा सञ्चालन नगरेको विरोधमा उत्रिएका विद्यार्थीहरूले मुख्य सडक अवरुद्ध गर्दै आफ्नो असन्तुष्टि जनाएका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले “हाम्रो परीक्षा सञ्चालन गर”, “विद्यार्थीको भविष्यसँग खेलबाड बन्द गर” जस्ता नाराबाजी गरेका थिए। अचानक गरिएको चक्का जामका कारण घण्टाघर क्षेत्र आसपास केही समय सवारी आवागमन प्रभावित भएको थियो।विद्यार्थीहरूले सम्बन्धित निकायले समयमै परीक्षा सञ्चालन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनीहरूले तत्काल परीक्षा तालिका सार्वजनिक गरी परीक्षा सञ्चालन गर्न माग गरेका छन्।घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो भने अवस्था सामान्य बनाउन पर्सा प्रहरीले पहल गरिएको जनाइएको छ।


