इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत तेस्रो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्स माथि उत्कृष्ट प्रदर्शन गर्दै नयाँ सिजनमा विजयी सुरुआत गरेको जनाइएको छ । गुवाहाटीस्थित बारसपारा क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा राजस्थानले ८ विकेटले सहज जित निकाल्यो ।१२८ रनको लक्ष्य पछ्याएको राजस्थानले १२.१ ओभरमै २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । यस जितमा वैभव सूर्यवंशी र यशस्वी जैसवालको उत्कृष्ट ब्याटिङ निर्णायक बन्यो ।
चेन्नईका ब्याट्सम्यानको झुर प्रदर्शन टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले राम्रो सुरुआत गर्न सकेन । कप्तान ऋतुराज गायकवाड र सञ्जु सामसनले ६–६ रन मात्र बनाएर आउट भए । तेस्रो नम्बरमा आएका आयुष म्हात्रे खाता नै खोल्न सकेनन् भने म्याथ्यू शर्टले २ रन मात्र जोडे ।टोली नियमित रूपमा विकेट गुमाउँदै १९.४ ओभरमा १२७ रनमै समेटियो । आठौँ नम्बरमा आएका जेमी ओभरटनले ३६ बलमा ४३ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए । उनले अन्त्यतिर अंशुल कम्बोजसँग मिलेर ३३ रनको साझेदारी गरे ।
अन्य ब्याट्सम्यानमा सरफराज खानले १७ र कार्तिक शर्माले १८ रन बनाए ।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २–२ विकेट लिए । जडेजाले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिँदै खेलमा मोड ल्याए । साथै बृजेश शर्मा, सन्दीप शर्मा र रवि बिश्नोईले १–१ विकेट लिए ।
वैभव–यशस्वीको आक्रामक सुरुआत लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर वैभव सूर्यवंशी र यशस्वी जैसवालले पहिलो विकेटका लागि ६.२ ओभरमा ७५ रनको शानदार साझेदारी गरे ।वैभवले १७ बलमा ५२ रन (४ चौका, ५ छक्का) प्रहार गर्दै खेललाई एकतर्फी बनाए । उनी आउट भएपछि पनि यशस्वीले संयमित खेल प्रदर्शन गरे । उनले ३६ बलमा अविजित ३८ रन बनाए ।ध्रुव जुरेलले १८ रनको योगदान दिए भने कप्तान रियान पराग १४ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए ।चेन्नईका लागि दुबै विकेट अंशुल कम्बोजले लिए । आज साँझ पन्जाब किङ्स र गुजरात टाइटन्सबीच खेल हुँने भएको छ ।


