Sunday, May 31, 2026

बाराका अमलेखगञ्जमा एक किलो अफिमसहित दुई जना प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको अमलेखगञ्जमा लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–२ निवासी ५५ वर्षीय खड्गबहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तान रहेको बाराका प्रहरीले बताएका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले उनीहरूको साथबाट ९४६ ग्राम अफिम बरामद गरेको बाराका प्रहरी स्रोतले जनाएको छ । प्रहरी निरीक्षक दिवाकर गणेश र प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा खटिएको टोलीले विशेष अपरेसन सञ्चालन गरेको थियो । हेटौंडाबाट पैदल सिमरातर्फ आउँदै गरेका उनीहरूलाई अमलेखगञ्ज क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि रोकी जाँच गरिएको थियो,जाँचका क्रममा उनीहरूले बोकेको झोला र लगाएको लुगाभित्र लुकाएर राखिएको अवस्थामा अफिम फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार लागूऔषध ओसारपसार गर्ने उद्देश्यले उनीहरू हिँडिरहेको आशंका गरिएको प्रहरीको भनाईं रहेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको जनाइएको छ, र उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीको भनाईं रहेको छ।
यस घटनाले पछिल्लो समय तराई–मधेस क्षेत्रमा लागूऔषध ओसारपसारको जोखिम बढ्दै गएको संकेत गरेको प्रहरीको भनाइ रहेका छन् । विशेषगरी सीमावर्ती क्षेत्रहरू प्रयोग गरेर अवैध पदार्थको कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाइएको बाराका प्रहरीले बताउँछन्।
प्रहरीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित रूपमा चेकजाँच तथा गस्तीलाई कडा बनाएको जनाएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी पनि दिएको छ, र यस घटनाबारे थप अनुसन्धान जारी रहेको बाराका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles