काठमाडौँको भेडासिंह स्थित एउटा चाँदी पसलमा लुटेराहरूले लुटपाटको प्रयास गरेका छन् ।
चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिका लाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका छन् ।
पसलको सिसिटिभी फुजेटमा लुटेराले सटर लगाएर लुट्न खोजे पनि पसलमा बस्ने युवतीले प्रतिकार गरेकी छन् । सुरुमा लुटेरा र युवतीबिच हातपातको अवस्था हुन्छ । युवतीले कुर्सी उचालेर प्रहार गरेपछि सटर खोलेर लुटेरा भगेका छन् ।
सुरुमा एकजना युवक छिरेर पेस्तोल देखाउँछन् । पसलमा बस्ने युवती मोबाइल चलाएर बसेकी हुन्छिन् । अर्का युवक पसलमा प्रवेश गरेपछि दुई जनाले आक्रमण गर्छन् । तर, प्रतिकार गरेर युवतीले लुटेरालाई भगाउँछिन् । पसलमा बस्ने युवतीको प्रतिकारको कारण लुटपाट हुन नपाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले बताएका छन् । लुटमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेका छन् ।
वैशाख १७ मा दिउँसो २ बजे भएको सो घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । लुटपाट गर्न खोज्नेहरूको पहिचान गर्ने प्रयास भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।
चार महिनाअघि न्युरोड क्षेत्रमा लुटेराहरूले ४ लाख नगद र ३ वटा मोबाइल लुटेको बताइएको छ । लुटिएका मोबाइल मध्ये दुईवटा आइफोन थियो । सोही समूहले चाँदी पसल लुटपाट गर्न खोजेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।


