सर्लाहीको मलंगवामा सशस्त्र प्रहरीको छापा : सशस्त्र प्रहरीले ७५ बोरा फर्सीको बीउ बरामद गरेको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ ।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा अवैध रूपमा भण्डारण गरिएको आशंकामा ठूलो परिमाणमा फर्सीको बीउ सशस्त्र प्रहरी सर्लाहीले ७५ बोरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित नवीनकुमार यादव सञ्चालनको दिनकर सेल्स सप्लायर्स मा अवैध रूपमा ठूलो परिमाणमा फर्सीको बीउ भण्डारण गरिएको सूचना प्राप्त भएपछि जेठ ३ गते राति नै निगरानी बढाइएको सशस्त्र प्रहरीको भनाईं रहेको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, र नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली परिचालन गरेर ७५ बोरा बिउ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार प्रारम्भिक निगरानीपछि संयुक्त टोलीले सप्लायर्समा छापा हानेर कागजात, भण्डारण अवस्था तथा बीउको स्रोतबारे अनुसन्धान थालेको थियो। त्यसक्रममा भण्डारण गरिएका फर्सीका बीउको परिमाण र आवश्यक कागजातमाथि शंका उत्पन्न भएपछि थप जाँच अघि बढाइएको थियो।
जेठ ४ गते दिउँसो गरिएको औपचारिक बरामद प्रक्रियामा सप्लायर्सबाट ७५ बोरा फर्सीको बीउ नियन्त्रणमा लिइएको हो। बरामद गरिएका बीउको बजार मूल्य लाखौं रुपैयाँ बराबर हुन सक्ने अनुमान गरिएको छ, यद्यपि आधिकारिक मूल्याङ्कन सार्वजनिक गरिएको छैन।सुरक्षा स्रोतका अनुसार बरामद गरिएको सम्पूर्ण बीउ आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सर्लाही जिल्ला भन्सार कार्यालय, मलंगवा मा बुझाइएको प्रहरीले बताउँछन् । भन्सार कार्यालयले कागजात परीक्षण, मूल्याङ्कन तथा कानुनी अवस्था अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ।


