धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्मले सुरक्षा जिम्मेवारीसँगै विकास र समुदायसँगको सम्बन्ध विस्तार गर्ने नयाँ अभ्यास अघि सारेको देखिन्छ । सीमावासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी निर्माण गरिएको चौतारा र चापाकलको उद्घाटनसँगै सशस्त्र प्रहरीले सीमाक्षेत्रमा आफ्नो भूमिका केवल सुरक्षा निकायको रूपमा मात्र नभई सामाजिक साझेदारको रूपमा पनि स्थापित गर्ने प्रयास गरेको देखिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण मुख्यालय धनुषाका सशस्त्र प्रहरी उपरीक्षक एसपीको अगुवाइ तथा प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपीको आयोजना र सहयोगमा सम्पन्न भएको महिनाथपुरमा निर्माण गरिएको चौतारा र चापाकलको उद्धाटन गरिएको जनाइएको छ । सीमाक्षेत्रका नागरिकले दैनिक रूपमा प्रयोग गर्न सक्ने यस्ता संरचनाले स्थानीय आवश्यकताको सम्बोधन मात्र गर्दैनन् , राज्यका निकायप्रति नागरिकको अपनत्वसमेत बढाउँछ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले आज मंगलबार आयोजना गरेको एक कार्यक्रममा खुला सीमाका कारण लागूऔषधको ओसारपसार तथा सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको बक्ताहरुले बताएका छन् ।

लागूऔषध सेवन गर्ने नेपाली युवाहरूका लागि भारत असुरक्षित गन्तव्य बन्दै गरेको र यसलाई निस्तेज पार्न प्रहरी कडाई साथ लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि बेचन दासले बताएका छन् । सीमावर्ती क्षेत्र भारतमा लागूऔषध सजिलै पाइने भएकाले पनि दुब्र्यसन बढेको उनको भनाइ रहेको छ । केही दिनयता मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा लागूऔषध तस्करी रोक्न सशस्त्र प्रहरी कठोर हुँदै गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर बिष्टले जानकारी गराएका छन् । उनले भने,सीमावर्ती क्षेत्र बजार भारतबाट दैनिक उपभोगका सरसामान ल्याउँदा जनतालाई कुनै अवरोध नगर्न मातहतका निकायहरूलाई निर्देशन समेत दिएका छन् ।

सशस्त्र प्रहरीको व्यवहारबाट बिगत ६ महिनायता नागरिकहरुले कुनै पनि किसिमको दुःख, हैरानी एवं झन्झट झेल्नुनपरेको स्थानीय वडाअध्यक्ष संजय पाण्डेले पनि बताएका छन् । उनले जनता र प्रहरीबीचको सम्बन्ध कस्तो हुन्छ त्यो यहाँको गुल्मपतिबाट सिक्नुपर्छ भन्दै डीएसपी सुरेश कोइरालाको प्रशंसा समेत गरेका छन् ।

सीमाबासीसँग सशस्त्र प्रहरी बल एवं क्वीक इम्पेक्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत ३० जना बिद्यार्थीलाई शैक्षिक सामग्री र महिनाथपुर भन्सार अगाडि रहेको टेम्पुपार्कमा चौतारा निर्माण एवं चापाकल जडान गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले जनाएको छ ।


