वीरगञ्ज, असार ९ — जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित एक मालवाहक ट्रक नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार असार १ गते राति करिब ११:५६ बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकस्थित सडकखण्डबाट बा.प्र.०३–००१ ख ३३४६ र ना.६ ख ५५०१ नम्बरका मालवाहक ट्रकहरूमा राजस्व छली गरी बिलबिजकभन्दा बढी औषधि तथा खुद्रा सामान लोड गरी वीरगञ्जबाट काठमाडौं र मोरङतर्फ लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले दुवै ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालयले असार ८ गते ट्रकहरूको जाँच गर्दा बा.प्र.०३–००१ ख ३३४६ नम्बरको ट्रकबाट Tramadol Hydrochloride IP-50 (Tramol) नामक प्रतिबन्धित लागुऔषध १२ हजार ६२ पत्ता बरामद गरेको जनाएको छ। प्रत्येक पत्तामा १० ट्याब्लेट रहेको उक्त लागुऔषधको कुल परिमाण १ लाख २० हजार ६ सय २० ट्याब्लेट रहेको छ । बरामद लागुऔषधको अनुमानित मूल्य ९ लाख ८४ हजार २ सय ५९ रुपैयाँ रहेको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ परेका ट्रकका चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–७ निवासी २३ वर्षीय सुमिल घले, रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी पर्सा प्रहरीले जनाएको छ ।


