Friday, July 10, 2026

घुमुवा प्रहरी’को छायाँमा रौतहटका व्यापारी आतंकित ?धम्की, असुली र अधिकार दुरुपयोगको आरोप, प्रहरी भन्छ– ‘प्रमाण भए कारबाही हुन्छ’

ताजा / भरखरै प्राप्त

रौतहट । रौतहट जिल्लाका विभिन्न प्रहरी युनिटमा सादा पोशाकमा परिचालित भनिएका ‘घुमुवा प्रहरी’को नाममा व्यापारीमाथि आर्थिक दबाब, धम्की र अवैध रकम असुली भइरहेको आरोप सार्वजनिक भएपछि जिल्लाको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ। स्थानीय व्यापारी, नागरिक तथा व्यवसायीहरूले कानुन कार्यान्वयन गर्ने निकायभित्रै केही व्यक्तिको गतिविधिका कारण व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको गुनासो गरेका छन्।
स्थानीय स्रोतका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वरिष्ठ हवल्दार मुनिलाल गुप्ताले व्यापारीहरूलाई प्रहरी कार्यालयमा बोलाउने, विभिन्न मुद्दामा फसाइदिने, थुनामा राख्ने वा कानुनी कारबाहीको डर देखाउँदै आर्थिक दबाब सिर्जना गर्ने गरेको आरोप लागेको छ। यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
व्यापारीहरूको भनाइमा यस्ता गतिविधिले कानुनी सुरक्षाको अनुभूति गराउनुपर्ने प्रहरीप्रति नै अविश्वास बढाएको छ। “व्यापार गर्नुभन्दा पहिले कसको दबाब आउँछ भन्ने चिन्ता गर्नुपर्ने अवस्था बनेको छ,“ एक स्थानीय व्यवसायीले नाम नखुलाउने सर्तमा बताए।
यस्तै, जिल्लाको मध्यभागस्थित गरुडा–शिवनगर क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय शिवनगरमा कार्यरत सहायक हवल्दार रतन यादवमाथि पनि यस्तै प्रकृतिका आरोप लागेका छन्। स्थानीयका अनुसार उनी अपराध अनुसन्धानमा केन्द्रित हुनुपर्ने जिम्मेवारीमा रहे पनि व्यापारीसँग अनावश्यक सम्पर्क बढाउने, दुःख दिने तथा व्यक्तिगत प्रभाव विस्तार गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ। यी आरोपबारे पनि आधिकारिक पुष्टि भएको छैन।
स्थानीयको दाबीअनुसार रौतहटका विभिन्न प्रहरी युनिटमा अझै पनि ‘घुमुवा प्रहरी’को नाममा कर्मचारी परिचालन हुने गरेको छ। उनीहरूका अनुसार यस्तो टोलीले बजार, नाका तथा व्यापारिक क्षेत्रमा पुगेर विभिन्न बहानामा रकम माग्ने, त्रास सिर्जना गर्ने र प्रभाव जमाउने प्रयास गर्ने गरेको छ।
यो विषयलाई थप गम्भीर बनाउने पक्ष भनेको प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले विगतदेखि नै सादा पोशाकमा प्रहरी परिचालन गर्ने अभ्यासलाई नियन्त्रण गर्ने नीति लिएको अवस्था हो। यस्तो व्यवस्थापछि पनि केही जिल्लामा पुरानै शैलीका गतिविधि दोहोरिएको आरोपले निगरानी र आन्तरिक अनुशासन प्रणालीमाथि प्रश्न उठाएको छ।
सुरक्षा विज्ञहरूका अनुसार प्रहरी संगठनभित्र केही व्यक्तिको गलत व्यवहारले सम्पूर्ण संगठनको विश्वसनीयतामै असर पार्न सक्छ। कानुन कार्यान्वयन गर्ने निकाय स्वयंमाथि अवैध असुली वा अधिकार दुरुपयोगको आरोप लाग्दा नागरिक र प्रहरीबीचको विश्वास कमजोर हुने उनीहरूको भनाइ छ।
यसैबीच, रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जिल्लामा सादा पोशाकमा प्रहरी परिचालन नगरिएको स्पष्ट पारेका छन्। उनले कुनै पनि प्रहरी कर्मचारी नियमविपरीत सादा पोशाकमा परिचालित भएको वा आफ्नो अधिकारको दुरुपयोग गरेको प्रमाणित भए कानुनबमोजिम आवश्यक कारबाही गरिने बताएका छन्।
उनले नागरिकलाई कुनै प्रहरी कर्मचारीबाट अनुचित व्यवहार भएको प्रमाण, भिडियो, अडियो वा अन्य विश्वसनीय आधार भए सम्बन्धित निकायमा उजुरी दिन आग्रह गर्दै प्रहरी संगठनले यस्ता विषयलाई गम्भीरतापूर्वक लिने बताए।
रौतहटमा सार्वजनिक भएका यी आरोप सत्य हुन् वा होइनन् भन्ने निष्कर्ष सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानबाट मात्र आउनेछ। तर, लगातार उठिरहेका गुनासा, व्यापारीको असन्तुष्टि र प्रहरी नेतृत्वको स्पष्टीकरणले एउटा महत्वपूर्ण प्रश्न भने उठाएको छ—यदि सादा पोशाकमा प्रहरी परिचालन नभएको हो भने व्यापारीले बारम्बार उठाइरहेका यस्ता आरोपको वास्तविकता के हो?
यसको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र निर्दोषको संरक्षण नै अहिलेको प्रमुख आवश्यकता देखिन्छ। प्रहरी संगठनको विश्वसनीयता कायम राख्न पनि यस्ता आरोपलाई सामान्य गुनासोका रूपमा होइन, संस्थागत सुधारको अवसरका रूपमा हेर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
असार २६ गतेकाे नव जनप्रहार साप्ताहिकबाट साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles