पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको जनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका भट्टराईलाई पर्सा जिल्ला प्रहरीमा सरुवा गरिएको नेपाल प्रहरीका प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले जानकारी दिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछिको घटनाक्रमका बीच एसपी पाठकसँग सम्बन्धित भिडियो सार्वजनिक भएको थियो । त्यसपछि चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाबारे छलफल गर्न गठित चिकित्सकको वार्ता टोलीले एसपी पाठकको सरुवालाई आफ्नो प्रमुख मागमध्ये एक बनाएको थियो । सोही पृष्ठभूमिमा नेपाल प्रहरीले पर्साको प्रहरी नेतृत्वमा परिवर्तन गरेको बताइन्छ ।
यसअघि पर्साको प्रहरी प्रमुख रहेका एसपी सुदीपराज पाठकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको जनाइएको छ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसपी दानबहादुर थापालाई दिइएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंमा कार्यरत रहेको बताइन्छ ।


