मोरङको सुन्दरहरैँचाबाट बन्दुक र गाँजासहित बुधबार राति ९ः१० बजेतिर एक जना पक्राउ परेका छन् । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोलामा लागुऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले पक्राउ गरेको छ ।
गिरीका नेतृत्वको टोलीले सुन्दरहरैँचा–१० का ५६ वर्षीय बलबहादुर राईको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक र गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार भान्साकोठाको माथि लुकाइछिपाइ राखिएको अवस्थामा एउटा भरुवा बन्दुक र घरनजिकै रहको ग्वालीबाट १.५ किलो गाँजा बरामद भएको बताएका छन् । बन्दुक र गाँजासहित राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारी राखिएको र
उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।


