
हिजो,बिहीबार भएको खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएका छन् । बेंगलुरुले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सकेको थियो । यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन बनाएको हो । नितिश रानाले २८ रन बनाएका छन् । यसपटक पनि राम्रो सुरुवातका बाबजुद राजस्थानले फिनिसिङ गर्न सकेन्न । पावरप्लेमा ७२ तथा १० ओभरको समाप्तिमा ११३-३ को अवस्थामा भएपनि त्यसपछि राजस्थानले लय गुमाएको हो । अन्तिम ३ ओभरमा ४० रन आवश्यक रहँदा १८ औं ओभरमा २२ रन आएपनि त्यसपछि हेजलवूडले शानदार बलिङ गर्दै १९ औं ओभरमा १ रन मात्र दिएर २ विकेट पनि लिएका थिए जहाँबाट बेंगलुरुको जित पक्का भएको बताइन्छ । बेंगलुरुका लागि जोश हेजलवूडले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिएका थिए । क्रुनाल पान्ड्याले २ तथा भुवनेश्वर कुमार र यश दयालले १-१ विकेट लिएको हो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको हो । विराट कोहलीले ७० तथा देवदत पडिक्कलले ५० रन बनाउन सफलता पाएका थिए । ओपनर फिलिप साल्टले २३ तथा टिम डेभिडले अविजित २३ रन बनाएको हो । राजस्थानका लागि सन्दीप शर्माले २ विकेट लिँदा वानिन्दु हसरंगा र जोफ्रा आर्चरले १-१ विकेट लिएका थिए ।यस जितसँगै ९ खेलमा १२ अंक भएको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा उक्लँदा ९ खेलमा ४ अंक मात्र बनाएर राजस्थान आठौं स्थानमा रहेको छ । राजस्थानको प्लेअफ सम्भावना अब कठिन बन्दै गएको देखिन्छ ।