सुनसरी जिल्लाको सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाबाट प्रहरीले ३.२२ ग्राम ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले हिजो मंगलबार दिउँसो करिब ३ बजे दुधपानी खोला क्षेत्रमा निगरानी गर्ने क्रममा मदन भण्डारी लोकमार्गको झण्डा चौकबाट चतरा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ७२२९ नम्बरको मोटरसाइकल रोकेको थियो,
प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार तीन जना व्यक्तिहरू नुहाउने स्थानतर्फ भागेका थिए”भाग्ने क्रममा इटहरी उपमहानगरपालिका–१६ निवासी २७ वर्षीय दिपेश चौधरीले आफ्नो गोजीबाट केही वस्तु निकालेर खोलाको ढुंगामाथि फालेको प्रहरीले बताउँछन् । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि फालिएको प्लास्टिकको बट्टा बरामद गरेको थियो। बट्टा खोलेर हेर्दा ४५ वटा सेतो प्लास्टिकका पोका बनाइ राखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने ३.२२ ग्राम पदार्थ फेला परेको सुनसरी प्रहरीले जनाएका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ राजावासका २४ वर्षीय दिपेन्द्र मोची रहेका छन्।
प्रहरीले बरामद लागुऔषध तथा मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।


