नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा, तस्करी नियन्त्रण, सीमावासीको विश्वास अभिवृद्धि तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई एकैसाथ केन्द्रमा राख्दै सशस्त्र प्रहरी बल नेपालले मोरङमा विशेष अभियान सञ्चालन गरेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या प्रत्यक्ष सुन्ने, समाधानका लागि पहल गर्ने र सीमाको सुरक्षा अवस्थाको स्थलगत मूल्यांकन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती सीमा क्षेत्र नजिक आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकली, सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापाको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी भएको थियो। टोलीमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्का तथा बीओपी दरैयाका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालासहितका अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी, समाजसेवी तथा भद्रभलादमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा सीमावासीहरूले दैनिक सुरक्षा चुनौती, सीमापार हुने अवैध गतिविधि, तस्करी, सीमा क्षेत्रमा हुने आवतजावतका समस्या तथा सुरक्षासँग सम्बन्धित विभिन्न गुनासा खुलेर राखेका थिए। सशस्त्र प्रहरीका अधिकारीहरूले ती समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सुरक्षा विज्ञहरूका अनुसार सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा कायम गर्न केवल कडाइ मात्र पर्याप्त हुँदैन।

स्थानीय समुदायसँग विश्वासको सम्बन्ध निर्माण गरेर सूचना आदान–प्रदानको वातावरण तयार पार्नु अझ प्रभावकारी उपाय मानिन्छ । त्यसैले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ जस्ता कार्यक्रमले सुरक्षा निकाय र नागरिकबीचको दूरी घटाउने अपेक्षा गरिएको छ । यसै क्रममा जहदा गाउँपालिका अन्तर्गत भुटाहा–इस्लामपुर क्षेत्रमा पनि स्थानीय भद्रभलादमीहरूको उपस्थितिमा सोही प्रकृतिको कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सीमा सुरक्षासम्बन्धी स्थानीय अनुभव, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल भएको थियो। सीमावासीको सक्रिय सहभागिताले सुरक्षा व्यवस्थापनमा समुदायको भूमिका अझ महत्वपूर्ण रहेको सन्देश दिएको छ । कार्यक्रमपछि डीआईजी मनिष थापाले उक्त क्षेत्रमा परिचालित सशस्त्र प्रहरीको ड्युटी पोस्टहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सीमामा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता, अनुशासन, व्यावसायिकता र नागरिकमैत्री व्यवहार कायम राख्न निर्देशन दिएका थिए । सीमा सुरक्षामा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने उल्लेख गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीअनुसार तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । त्यसैगरी डीआईजी थापाले विराटनगर महानगरपालिका–१२ बखरीस्थित मनसुन प्रतिकार्य सुरक्षा बेसको पनि निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा त्यहाँ मौज्दात विपद् प्रतिकार्य सामग्री, उद्धार उपकरण तथा तयारी अवस्थाको अवलोकन गरिएको थियो।

मनसुनका कारण बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटना जुनसुकै बेला हुन सक्ने भएकाले सम्पूर्ण सुरक्षाकर्मीलाई २४सै घण्टा तयारी अवस्थामा रहन उनले निर्देशन दिएका थिए। उद्धार सामग्रीको नियमित परीक्षण, जनशक्तिको तयारी तथा विपद् आएलगत्तै तत्काल परिचालन हुने व्यवस्था सुनिश्चित गर्नसमेत उनले जोड दिएका थिए।
सीमा सुरक्षा र विपद् व्यवस्थापन दुवै राष्ट्रिय सुरक्षाका महत्वपूर्ण पाटा भएकाले यी दुवै क्षेत्रमा समान रूपमा प्रभावकारी तयारी आवश्यक रहेको डीआईजी थापाको निर्देशनले स्पष्ट पारेको देखिन्छ । हाल नेपाल–भारत खुला सीमामा अवैध ओसारपसार, लागुऔषध कारोबार, मानव बेचबिखन तथा अन्य सीमापार अपराध चुनौतीका रूपमा रहेका बेला स्थानीय समुदायसँग प्रत्यक्ष संवादमार्फत सूचना संकलन गर्ने रणनीतिलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको देखिन्छ। यसले भविष्यमा सीमा अपराध नियन्त्रण र विपद् व्यवस्थापन दुवै क्षेत्रमा थप प्रभावकारी परिणाम दिने अपेक्षा गरिएको छ।


