सुन तस्करी प्रकरण अवैध सुन भित्र्याउनकै लागि कम्पनी खडा गरेको आशंका काठमाडौं । सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ।विभागले कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको छ । त्यसबाट तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको अनुमान छ । ‘बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ तर गोदाममै सुन छुट्टयाएर तस्करले लगेको अवस्थामा फुक्लेका धेरै ब्रेक शु भेटियो ।छापा मार्दा डिस्क ब्रेकका सामान तथा सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको छ । विभागले त्यहाँ बरामद गरेका सामानहरु त्रिभुवन विमानस्थलमा बरामद गरेको पोकाजस्तै रहेको बताइएको छ । तर, ती पोकाहरुमा सुन छ छैन त्यसबारे भने अनुसन्धानपश्चात खुलाइने बताइएको छ । गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो । एक थानमा एक जोडी ब्रेक शु रहेकामा विमानस्थलमा बरामद भएकोमा एउटामा चाहिँ सुन थियो । २०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ ।बुधबार विभागले छापा मारेको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए । सुन भित्रिनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका छन् । भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ब्रेक सुकै आवरणमा असार २९ मा भित्रिएर विमानस्थल भन्सार जाँचपास भएको १ क्विन्टल सुन विभागले अघिल्लो मंगलबार सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यस क्रममा एक जना भन्सार एजेन्ट र अर्का एक ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानमा हालसम्म विमानस्थल भन्सारका अधिकृत, दुई खरिदार, चार जना भन्सारसहित १७ जना पक्राउ परिसकेका छन् । बुधबार मात्रै सुन तस्करीसँग जोडिएका नरेश भनिने नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका छन् ।तामाङमाथि सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप छ । हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । व्यापारी अडुकिया गत महिना मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत–दुबई हुँदै हङकङ पुगेका थिए । गत जुन २६ मा त्रिभुवन विमानस्थलबाट अडुकिया भारत गएको देखिन्छ । त्यतैबाट दुबई पुगेका उनी हङकङबाट पुनः दुबई हुँदै जुलाई ५ मा त्रिभुवन विमानस्थल आएका थिए । आठ कार्टुनमा ब्रेक सुको आवरणमा भित्रिएको क्विन्टल सुन असार २९ मा बरामद हुनुअघि पनि दुई महिनाभित्र रेडी ट्रेडकै नाममा हङकङबाट १ हजार ९ सय ९७ केजी सामान (ब्रेक सु, सेभर र मेकानिकल मोटर) भित्रिएको थियो, जसमा २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु थिए । सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले, मेकानिकल मोटर ताइवानको तालमड कम्पनीले र चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाएको थियो । तस्करीमा विमानस्थल भन्सारकै अधिकृत र जाँचकी तथा एक्सरेमा बस्ने प्राविधिकको भूमिका झनै शंकास्पद देखिएको छ । ब्रेक सुको कार्टुन एक्सरेमा राख्दा कैफियत देखिए पनि कर्मचारीले गिरोहको योजनाअनुसार नै छाडिदिएका थिए । रेडी ट्रेडले विमानस्थल भन्सारमा हालसम्म भित्र्याएका सामानको विवरण हेर्दा यो कम्पनी ब्रेक-सु ल्याउनकै लागि मात्र खडा गरिएको देखिन्छ। किनभने, २०७९ चैत १९ गते कम्पनी रजिस्ट्रारमा दर्ता भएको कम्पनीले सोही वर्ष चैत २६ मा अन्तर्राष्ट्रिय व्यापार गर्न वाणिज्य विभागबाट इजाजत लिएको हो। यसपछि अन्य प्रक्रिया पूरा गरेर २०८० जेठ ३ गते मात्र यो कम्पनीले पहिलोपटक सामान आयात गरेको थियो। भन्सार अभिलेखअनुसार कम्पनीले सुरूमा, जेठ ३, ७ र १० गते दाह्री काट्ने मेसिन भित्र्याएको छ। त्यसपछि जेठ १४ गते चौथोपटक भने ब्रेक-सु भित्र्याएको छ। यसपछि साउन ८ गतेसम्मै लगातार ठूलो परिमाणमा ब्रेक-सु ल्याएको देखिन्छ। कम्पनीले कम्तीमा १९ किलोदेखि बढीमा १५४ किलो (साउन २ गते बरामद भएको) ब्रेक-सु भित्र्याएको छ। सय किलोभन्दा बढी नै चारपटक ल्याएको छ। कुनै पनि नयाँ कम्पनी खडा गरेर आयात-निर्यातको काममा सहभागी हुन सामान्यतया ६ महिनादेखि एक वर्ष समय लाग्ने व्यापारीहरू बताउँछन्। तर रेडी ट्रेडले कम्पनी खडा गरेको दुई महिनाभित्रै सामान भित्र्याएको छ। त्यसैले उसले अवैध सुन भित्र्याउनकै लागि कम्पनी खडा गरेको आशंकामा बल पुगेको उनीहरूले बताए।बुढानीलकण्ठ नगरपालिकामा कार्यालय रहेको भनी रेडी ट्रेड प्राइभेट कम्पनी लिमिटेडका नाममा दर्ता भएको यो कम्पनीको कुल पुँजी २५ लाख रूपैयाँ देखाइएको छ। कम्पनीका सञ्चालकमा दिलीप भुजेलको नाम छ। तर उनी एक सामान्य मजदुर मात्र भएको पाइएको छ। रेडी ट्रेडका नाममा अडिटर पनि नियुक्त गरिएको छ। पाननम्बर उल्लेख नगरिएको अडिटर कम्पनीको नम्बर ‘युपिबिसी एसोसिएटस्’ राखिएको छ। नोटरीको काम भने गंगादेवी श्रेष्ठ, नोटरी नम्बर ३४३४ बाट भएको छ।साभार।