पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए । भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताए । सरकार आफ्ना लागि ठूलो कुरा नभएको र गलत सम्झौता नगर्ने उनले बताए !
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति–सम्झौता ऐतिहासिक भएको बताउन्दै प्रचण्डले यसमा पनि केही विरोधी तत्वहरुले सरकारलाई आप्ठ्यारो पार्न खाजेको बताए ।
एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’
प्रधानमन्त्री प्रचण्डले ठूलो कुरा सुशासन र जनताको सेवा भएको भन्दै भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने बताए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ! भन्ने मेरो बुझाइमा ।’
घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रचार भने कम भएको बताए ।
‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’
उनले जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिएको बताए । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएको र उनीहरु एजेण्डबिहिन बनेर जनतामा नाङ्गिन पुगेको प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गरे । उनले भने, ’सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ ।’
प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । संगठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धीहरु थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ ।
प्रेस सेन्टरले संविधान र संविधानले प्रद्दत गरेका उपलब्धी रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरु सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास गरेको छ ।
प्रचण्ड
प्रधानमन्त्री