दुई महिनाअघि वीरगन्ज भन्सारबाट छुटाइएको व्यापारिक सामानमा ४ करोड ३८ लाख राजस्व छलिएको राजस्व अनुसन्धान विभागले बताएको छ । ब्रान्डेड जुत्ता, टिसर्टलगायत वस्तुको न्यून मूल्यांकन गराएर रुट्स फेसन प्रालिले आयात गरेको भन्दै व्यापारिक वस्तु बोकेका तीन कन्टेनर हेटौंडाबाट नियन्त्रणमा लिइएर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर विभागमा बुझाएको छ । प्रज्ञापनपत्र नम्बर एम ५४६३४ बाट आयात गरिएका जुत्ताको प्रतिजोर मूल्यांकन ४५ अमेरिकी डलर हुनुपर्नेमा १५ देखि २० डलर मात्र राखिएको छ । विभागले राजस्व चुहावट नियन्त्रण ऐनअनुसार बिगो २ करोड १८ लाख र बिगोबमोजिमको शतप्रतिशत जरिवाना बराबरको रकम दाबी गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले नुसन्धान अधिकृतले गरेको विस्तृत अनुसन्धानका आधारमा तयार गरेको अन्तिम प्रतिवेदनबमोजिम बिगो र बिगो अनुसारको जरिवानाबापत मंगलबार ४ करोड ३६ लाख बराबर धरौटी माग गर्ने आदेश गरेका छन् ।